महोत्तरी : महोत्तरीको मनरा सिसवा नगरपालिका-९ बथनाहास्थित नेपाल-भारत सीमामा एक दुर्लभ मुर्ति फेला परेको छ। २२ वर्षीय बलिन्दर सदाले दजगजा क्षेत्रबाट भगवान बुद्धको जस्तै देखिने दुर्लभ मूर्ति फेला पारेका हुन्।
फेला परेको उक्त मूर्ति लगभग एक फिटको रहेको छ । करिब १५ किलो तौल रहेको मूर्ति सयौं वर्ष पुरानो देखिन्छ । फेला परेको उक्त मुर्ति अन्य कहिँकतै नदेखेको स्थानीयबासीले बताए।
स्थानीयका अनुसार आज कुशे औंसी भएकाले सदा बिहान कुश उखेल्न सिमापारि पुगेका थिए । कुश उखेल्न लाग्दा उनले छेउमा रहेको नदीमा माछा हेरे। माछा समात्न पुग्दा त्यो मूर्ति भेटियो।
मुर्ति भेटाएका सदालाई एसएसबीले नियन्त्रणमा लिएर भारततर्फ लगेको छ। मुर्ति दिन भनेपछि भारतीय सुरक्षाकर्मीले उनलाई उनकै घरबाटै नियनन्त्रणमा लिएर लगेको नेकपाका युवा नेता सत्येन्द्र यादवले जानकारी दिए । मुर्ति फिर्ता पाए सदालाई छोड्ने भारतीय एसएसबीले बताएका छन्।
फेला परेको उक्त मुर्ति अहिले मनरा सिसवा प्रहरीको नियन्त्रणमा छ। यता, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सदाको रिहाका लागि पहल गरिरहेको बताएका छन्। साभार थाहा खबर बाट।

