दाङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

  • ३१ श्रावण २०७७, शनिबार २१:११ मा प्रकाशित
  • घोराही, ३१ साउन
    दाङमा आज थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा आर टि पिसिआर प्रविधिबाट शनिबार गरिएको नमुना स्वाव परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ९ जना र घोराही उपमहानगरपालिकाका १ जना गरि १० जना ब्यक्तिमा कोभिड १९ संक्रमण देखिएको हो ।
    आज संक्रमित हुनेमा २ जना महिला र ८ जना पुरुष रहेका छन ।

    तुलसीपुर उपमहानगरपालिकाका आज संक्रमित भएको पुष्टि हुनेमा वडा नं. १ का १७ वर्षीय पुरुष १ जना, वडा नं. ४ का ३३ वर्षीय पुरुष १ जना, वडा नं. ५ का ३४ वर्षीय महिला १ र ४६ वर्षीय पुरुष १ गरि २ जना, वडा नं. ८ का १७ वर्षीय पुरुष १ जना, वडा नं. ९ का २२ वर्षीय पुरुष १ जना, वडा नं. १४ का ३१ वर्षीय पुरुष १ जना र वडा नं. १५ का २८ वर्षीय महिला १ र ३५ वर्षीय पुरुष १ गरि २ जना रहेका छन ।

    तुलसीपुरमा आज संक्रमित पुष्टि हुनेहरू सबै क्वारेन्टाइनमा बस्दै आएका ब्यक्तिहरु भएको र जसमध्ये ८ जना सेन्टर मा वि क्वारेन्टाइनमा र १ जना राप्ती लाईफ केयर अस्पताल क्वारेन्टाइनमा बसेका थिए । उनिहरु मध्ये ५ जना ईन्डियाबाट र ४ जना तेस्रो मुलुकबाट आएको ब्यक्ति भएको तुलसीपुर उपमहानगरका कोभिड १९ फोकल पर्सन बिमल केसीले जनाएका छन ।

    साथै उनले कन्ट्याक्ट ट्रेसिंग र समुदाय स्तर तथा होम क्वारेन्टाइनमा वसेका १५२ जना व्यक्तिहरुको साउन २८ गते स्वाव संकलन गरि प्रतिष्ठानमा परिक्षणका लागि पठाइएका मध्ये ९ जनाको पोजिटिभ आएको र बाकी १४३ जनाको नेगेटिभ आएको जानकारी दिए ।

    साथै फोकल पर्सन केसीले तुलसीपुरमा हालसम्म ७७ जना ब्यक्तिमा कोभिड संक्रमण पुष्टि भएकोमा ६२ जना निको भइ घर फर्केको जानकारी दिए ।

    त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १५ का ३५ वर्षीय पुरुष संक्रमित हुन पुगेका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक आएका शंकास्पद २ जनाको नमुना स्वाव प्रयोगशालामा परिक्षण गर्दा १ जनाको पोजिटिभ र १ जनाको नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा स्टार अस्पताल सानेपा ललितपुरको प्रयोगशालामा दाङका थप १ जना पोजिटिभ भनिएपनी निज कहाँका हुन भन्ने बारे स्पष्ट जानकारी प्राप्त हुनसकेको छैन ।

    Leave a Reply