साकिनेका पहिरो पिडित परिवारले पाए ४० हजार बराबरको खाद्य सामग्री सहयोग

  • १९ श्रावण २०७७, सोमबार १९:५५ मा प्रकाशित
  • कमिरेचौर,१९ साउन ।
    दाङको बंगलाचुली गाउँपालिका वडा नं.-५ साकिनेमा गत बुधबार राती घरमाथी बाट खसेको पहिरोले पुरीएर मृत्यु भएका मृतकका परिवारलाई ४० हजार बराबरको विभिन्न खाद्य सामग्री सहयोग गरिएको छ ।

    दाङ घोराहीका विभिन्न व्यक्तिहरुले उक्त खाद्य सामग्री सहयोग जुटाएर बंगलाचुली गाउँपालिका वडा नं.-५ का अध्यक्ष ऐनुराज खत्री मार्फत पिडित उक्त परिवारलाई हस्तान्तरण गरेका हुन् ।

    खाद्य सामग्रीहरु मृतकका ससुरा देविराम परियार र छोरी एलिसा परियारलाई आधा-आधा सामग्रीहरु दामासायीरुपमा हस्तान्तरण गरीएको थियो।

    हस्तान्तरण गरिएको खाद्य सामग्रीमा चामल १३ बोरा, दाल २ बोरा, तेल ५ लिटर, बेसार, मसला, जिरा, पुरनदाना, चिउरा, दालमोठ, कपडा धुने साबुन १२ वटा, नुहाउने सावुन १२ वटा र भाँडा माझ्ने सावुन १२ वटा गरी ४० हजार रकम बराबरको सामग्री रहेको छ ।

    पहिरो पिडित परिवारलाई नरेन्द्र पुन, नाम नबताउने सर्तमा क्यानडाबाट १५ हजार बरावरको चामल, सस्तो किराना पसलका गणेश श्रेष्ठ, रमेन्द्र श्रेष्ठ , शिव एग्रोका शिवराज रेग्मी, बामदेव सुवेदी, दिपक वस्नेत, टि-मार्ट परिवार, मुकेश डिसी, आदित्य भट्टराई र सुमन अधिकारीले उक्त खाद्य सामग्री एकमुष्ट सहयोग प्रदान गर्नु भएको थियो ।

    साउन ७ गते बुधबार राती परेको अविरल वर्षाका कारण घरमाथीबाट आएको पहिरोमा पुरीएर एकाघरका आमा छोरीको मृत्यु भएको थियो । मृतक बाटुली परियारको ४ वर्षकी छोरी एलिसा परियार अहिले अविभावक विहिन भएकी छन् । उनि अहिले मामाको घरमा बस्दै आएकी छन् ।

    Leave a Reply