
भद्रगोल नेपाली सिरियलका चर्चित कलाकार कुमार कट्टेल ‘जिग्री’ले दुबईमा अलपत्र नेपाली महिलालाई फर्काउन हवाई भाडा सहयोगको घोषणा गरेका छन्। आइतवार परेको जन्मदिनका अवसरमा कट्टेलले दुबईमा अलपत्र महिलालाई हवाई भाडा दिने घोषणा गरेका हुन्।
झापा घर भएकी ती महिला दलालमार्फत भारतको बाटो हुँदै दुबइ पुगेर अलपत्र परेको र पीडामा रहेका जानकारी पाएपछि कट्टेल सहयोगका लागि अघि सरेका हुन्।
‘मैले मेरो जन्मदिन खुशियाली साथ मनाउनुको सट्टा उक्त दुखमा रहनु भएकी नेपाली चेलिलाई दुबईबाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु,’ कट्टेलले फेसबुकमा लेखेका छन्।
भद्रगोल हाँस्य टेलिश्रृखंलाबाट जिग्री नामबाट चर्चा आएका कट्टेल पछिल्लो समय सक्कीगोनीमा जिग्रीकै भूमिकामा अभिनय गर्छन्। उनी चर्चित हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’का भाई हुन्।


