
पोखराको पृथ्वी चोकस्थित ‘ट्रुथ एसेम्ब्ली चर्च’ मा एक साताअघि ६५ वर्षीय वृद्धको निधन भयो। क्रिश्चियन परम्पराअनुसार उनको शव पोखरा-१५, पटनेरीस्थित सेती नदी किनारको घाटमा गाड्न लगियो।
खाल्डो खन्दै गर्दा केही स्थानीयले विरोध गरे। भनाभनमै यो घटना टुंगो लाग्यो, तर विवाद टुंगिएन।
हिन्दु र क्रिश्चियन दुवै धर्मावलम्बीले यही घाट प्रयोग गर्दै आएका छन्। आ–आफ्नो परम्पराअनुसार घाटमा हिन्दुले शव जलाउँछन् भने नजिकै क्रिश्चियनले शव गाड्छन्। एकअर्काको घाट प्रयोग गरेको भन्दै विवाद हुँदै आएको दुवै पक्षले स्वीकार गरेका छन्।
यही विवादले उग्र रूप लिँदा शनिबार दुई पक्षबीच झडप भएको छ। केही घाइते भएका छन्। प्रहरीले विवादलाई उत्कर्षमा पुग्न नदिए पनि कसैलाई पक्राउ गरेको छैन।
घाट र घाटमाथिको सार्वजनिक चउर प्रयोगमा विवाद हुँदा झडपको स्थिति आएको उनीहरूले बताएका छन्।
हिन्दु धर्मका पक्षपातीले उक्त घाट संरक्षण गर्न भन्दै ‘सिद्धेश्वर भवन मण्डल तथा संरक्षण समिति’ बनाएका छन्। ‘हामीले गत वर्ष नै घाटमा वृक्षारोपण गरेका थियौं,’ समितिका उपाध्यक्ष चित्रबहादुर भण्डारीले सेतोपाटीसँग भने, ‘अहिले बिरुवालाई बार हालेर संरक्षण गर्न खोज्दा आक्रमण गरे।’
हिन्दुहरूले पुर्खौंदेखि प्रयोग गरेको घाटमा चार वर्षयता क्रिश्चिनहरूले शव गाड्न थालेको उनको दाबी छ। घाटनजिकै गत वर्ष क्रिश्चियनले शव गाड्न प्रयोग गरेको ठाउँमा तारबार गरेको र उक्त तारबार गाउँलेले फालिदिएको उनले बताए।
क्रिश्चियन पक्षले भने सिद्धेश्वर भवन मण्डल तथा संरक्षण समितिले आपसमा मिलेर अघि बढ्न नखोजेको दाबी गरेको छ। सेतोपाटी.कम ।

