वीरगञ्जमा विषम परिस्थिति देखा पर्‍यो, चिकित्सकसहितको विज्ञ टोली पठाऊ : राजनीतिक दल

  • १५ श्रावण २०७७, बिहीबार १६:१७ मा प्रकाशित
  • वीरगञ्ज । पर्साका क्रियाशिल राजनीतिक दलले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण गर्न चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् ।जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन अत्याधिक बढ्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरुले विज्ञ टोलीमार्फत संक्रमण नियन्त्रण र संक्रमितको व्यवस्थापन गरी दिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका छन् ।

    पर्सा र बारामा बुधबार मात्रै चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेना लगायत ५३ जनामा कोरोना पुष्टि भएको छ ।

    बिहीबार जिल्लाका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष लगायत प्रदेश सांसद, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष र सामाजिक अभियन्तासहितको सर्वपक्षीय बैठकले ५ बुँदे निर्णय गरेको छ ।

    निर्णयको पहिलो बुँदामै कोरोना महामारी नियन्त्रण गर्नका लागि विज्ञ टोली वीरगञ्ज पठाउन माग गरिएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताए ।

    बैठकले अरु पनि नीजि अस्पताललाई लिएर कोभिड अस्पताल बनाउन संघ सरकारसँग माग गरेको छ ।

    ‘दिनहुँ सयौं कोभिड संक्रमित देखिन थालेको छ । कोभिड विशेष अस्पतालमा बेडको अभावमा भर्ना हुन नपाएर संक्रमित उपचारबाट बञ्चित छन् । विषम परिस्थिति देखा परेको छ,’ उनीहरुले भनेका छन्, ‘संक्रमितको लागि थप कोभिड अस्पताल जरुरी छ । नेशनल मेडिकल तथा शिक्षण अस्पताल, वयोधा अस्पताल, वीरगञ्ज हेल्थ केयर अस्पताल लगायत मध्ये कुनै निजी अस्पताललाई लिएर कोभिड विषेश अस्पतालको रुपमा व्यवस्थापन र सञ्चालन गर्नुपर्ने देखिन्छ ।’

    बैठकले नारायणी अस्पतालको बन्द सेवा सुरक्षा अपनाएर सुचारु गर्न, नारायणी अस्पताललाई रुटिङ हेल्थ सर्भिस अर्थात जनरल अस्पताल कै रुपमा सुचारु राख्नुपर्नेमा जोड दिनुको साथै वीरगञ्जमा विद्युतिय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको छ ।

    बैठकमा जसपाका अध्यक्ष राम नरेश यादव, नेकपाका प्रतिनिधि महेश दास, प्रदेश सांसद ओम प्रकाश शर्मा, राजेश्वर साह तेली, डा. अन्जु यादव, जन्नत अन्सारी, वीरगञ्ज उघोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, प्रा. लालन द्विवेदी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईं, वृजेश्वरप्रसाद चौधरी लगायत सहभागी थिए । अनलाइन खबर।

    Leave a Reply