
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको गुट भेला सकिएको छ। आज बिहान नौ बजेबाट प्रचण्ड निवास बालुवाटारमा शुरु भएको भेला झण्डै साढे दुई घण्टा चलेको थियो।
नेकपाको विवाद मिलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको मंसिरमा महाधिवेशन गर्ने र प्रचण्डलाई एकल अध्यक्षमा सघाउने प्रस्तावमा प्रचण्ड सहमत भएको भन्दै नेपाल समूहले विरोध गरेपछि प्रचण्डले नेताहरुलाई आफ्नो निवास खुमलटारमा बोलाएका थिए। भेलामा वरिष्ठ नेताहरु नेपाल र झलानाथ खनालले प्रचण्डलाई धोका दिएको हो भनी शंका व्यक्त गरे।
उनीहरुले प्रचण्डलाई ‘के तपाइले धोका दिएको हो भन्दै प्रश्न’ गरेका थिए। जवाफमा प्रचण्डले ओलीको प्रस्तावमा आफूले कुनै सहमति नगरेको नेताहरुलाई ब्रिफिङ गरेको बताइएको छ। असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा मागेपछि चरम अवस्थामा पुगेको भए पनि विवाद मिलाउन दुई अध्यक्ष प्रचण्ड र ओली केही समयदेखि एक्लाएक्लै छलफलमा छन्। शनिवारको सचिवालय बैठकमा ओलीको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई प्रचण्डले सहमति जनाएका थिए। प्रचण्डले धोका दिएको भन्दै नेपाल समूहका नेताले विरोध गरेका छन्। प्रचण्डले खुमालटार भेलामा महाधिवेशनको प्रस्ताव आएको भए पनि आफूले सहमति नगरेको दाबी गरे।
खुमलटार भेलामा सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा अनुपस्थित भएका छन्। भेलामा प्रचण्ड, वरिष्ठ नेता तथा सचिवालय सदस्य माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहभागी थिए। भेलामा गौतम अनुपस्थित भएको उनका स्वकिय सचिव दीपक टमाटाले जानकारी जानकारी दिए। ‘उहाँ त अहिले घरमै हुनुहुन्छ। मैले पनि भेला भएको भन्ने सुनेको छु,’उनले भने।
ओलीले वैशख ८ मा पार्टी विभाजन गर्न सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्ड-नेपाल गुटले ओलीको राजीनामा मागेको थियो। तर वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावले वामदेव पछि हटेका थिए। ओलीले प्रधानमन्त्री बनाउने झुटा आश्वासन दिएको भन्दै फेरि प्रचण्ड नेपाल गुटमै फर्किएका गौतम पछिल्लो समय ओलीविरुद्ध आक्रामक बनेका थिए।
प्रचण्ड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले राखेको मंसिरको महाधिवेशनको एजेण्डामा सहमत भएको भन्दै नेपाल समूहले दुई अध्यक्षको चोचोमोचो मान्य नुहुने बताएको थियो। शनिवारको सचिवालय बैठकमा प्रचण्डले ओलीको राजिनामा विषय नउठाएर मंसिरमा हुने महाधिवेशनको प्रस्ताव राम्रो भएको बताएका थिए। ओलीले प्रचण्डलाई एकल अध्यक्षका लागि महाधिवेशनमा सघाउने सहमति भएको थियो।
तर प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको छ। नेकपाभित्र विवाद बढ्दै गएपछि केही समय यता प्रचण्ड ओली एक्लाएक्लै वार्तामा छन्। यसअघि पनि ओली प्रचण्डबीच ५ बुदे सहमति भएको भनिए पनि पछि प्रचण्डले नेपाललाई त्यस्तो सहमति नभएको भन्दै आश्वस्त पारेका थिए। नेपाल समुहले एक ब्यक्ति एक पदको एजेण्डा अघि सारेर ओलीको राजीनामा मागेकोमा प्रचण्डले पनि सचिवालय तथा स्थायी कमिटीमा ओलीको राजीनामा मागेका थिए। पहिलो पोस्ट.कम बाट ।

