वसन्त अनुभव

घोराही, दाङ, २१ असार
असार महिनाको झरी, चिप्लो बाटोका बावजुद पनि दाङ जिल्लाको बिजौरीमा अवस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले दाङ जिल्लाको विभिन्न स्थानहरुमा कम्युनिटी बेस्ड हेल्थ क्याम्प सन्चालन गर्दै आएको छ ।
चिकित्सालयले आज घोराही उपमहानगरपालिका वडा नं. १० को नारायणपुर र वडा नं. १२ को हापुरमा हेल्थ क्याम्प सन्चालन गरेको छ । हेल्थ क्याम्पको नेतृत्व प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुरले गर्नुभएको थियो ।

उक्त हेल्थ क्याम्पमा जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य चौकीमा आएका विरामीहरुलाई ईम्युनिटी बढाउने जडिबुटीजन्य आयुर्वेदिक औषधि बितरण गरिएको थियो ।
उक्त अवसरमा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष राजेन्द्र बुढाले सेवाग्राहीहरुलाई कोरोनासँग डराएर होइन सरकार निर्देशित सावधानी अपनाएर निडरताका साथ सामना गर्न अनुरोध गर्नुभयो । साथै उहाँले क्याम्पबाट प्रदान गरिएको औषधि घरमा लगेर मुकेलामा कोच्ने, फाल्ने नगरी नियमित सेवन गर्न अनुरोध गर्नु भएको थियो ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नं.१० का वडाध्यक्ष चित्र बहादुर डाँगीले आफुले विगत २ वर्ष देखि जडिबुटी औषधि सेवन गर्दै आएको र त्यसले आफुलाई निकै फाइदा पुर्याएको बताउनु भयो । साथै उहाँले हेल्थ क्याम्पबाट प्रदान गरिएको जडिबुटीजन्य औषधि चिकित्सकले बताए अनुसार सेवन गर्न अनुरोध गर्नुभएको थियो ।

हेल्थ क्याम्प टोलिका प्रमुख एवं प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुरले नेपाल लगायत सारा विश्वभरी नै फैलिएको डरलाग्दो रोग कोरोनाको हालसम्म निको पार्ने कुनै औषधि बनिनसकेको अवस्थामा कोरोना महामारीका लागि जडिबुटीजन्य आयुर्वेदिक औषधि निकै प्रभावकारी हुने बताउनु भयो ।
सिमित बजेटका कारण सबै ब्यक्तिहरु समक्ष औषधि पुराउन नसकिने बाध्यताका वावजुद हेल्थ क्याम्पमा वितरण गरिएका औषधि नमुना जस्तो भएकोले सबैले ती जडिबुटीहरु पहिचान गरि ती जडिबुटीहरु खोजेर आ-आफै प्रयोग गर्नुपर्ने बताउनु भयो ।
उक्त अवसरमा प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङका वरिष्ठ कविराज निरीक्षक वसन्त के.सी.ले हेल्थ क्याम्पमा बितरित औषधिको मात्रा, सेवन विधी, फाइदा आदिका बारेमा सेवाग्राहीहरुलाई जानकारी दिनुभएको थियो ।
हेल्थ क्याम्पमा शरीरमा रोग प्रतिरोध क्षमता अभिबृद्वी गर्ने जडिबुटीजन्य आयुर्वेदिक औषधि जस्तो आमलकी पाउडर, गुडुची पाउडर आदि वितरण गरिएको थियो ।
हेल्थ क्याम्प टिममा चिकित्सालयका निमित्त निर्देशक रामकामेश्वर ठाकुर सँगै वरिष्ठ कविराज निरीक्षक वसन्त केसी, अधिकृत प्रेमप्रकाश खड्का, सि.अ.न.मि. वालकुमारी केसी, शालिकराम भण्डारी, का.स. गोमा पौडेल सम्मीलित रहेका थिए ।

