
काठमाडौं : लगातारको अविरल वर्षा पछिको बाढी–पहिरोले पृथ्वीराजमार्गको धादिङ खण्डको मौवा खोलाको पुल बगाएपछि देशकै सबैभन्दा व्यस्त सडक ठप्प छ। पृथ्वीराजमार्गसँग देशकै राजधानी काठमाडौंसँगको सम्पर्क टुटेको ३६ घण्टा भइसक्यो। धादिङ र चितवनको सीमामा रहेको मौवा खोलाको पुल बगाएपछि सडक सूचारु गर्ने प्रयास भइरहेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए।
आज पृथ्वी हाइवे खुल्छ त भन्ने प्रश्नमा उनले भने,‘आज सडक खुल्ने सम्भावना छैन । डोजरहरूको प्रयोग गरेर खोलाले बगाएर ल्याएको गेग्य्रान फाल्ने, ग्याबिन वाल लगाउने काम भइरहेको छ।’ उनका अनुसार अहिले मौवा खोलाले आफ्नो धार परिवर्तन गरेकोले झन समस्या थपिएको छ। ‘झन समस्या भएको छ,’ उनले भने, ‘खोलाले आफ्नो धार नै परिवर्तन गरेको छ। खोलालाई पहिले बगेको ठाउँमा नफर्काएसम्म समस्या हुने देखिएकोले पुरानै ठाउँमा फर्काउने काम भइरहेको छ।’ मौवा खोलाको पुलसँगै त्यहाँको १५ मिटर सडक खोलाले बगाएको छ।
उनले धादिङ हुँदै काठमाडौंसम्मको पृथ्वीराजमार्गको अन्य ठाउँमा झरेका साना पहिरोहरू पन्छाउने कामहरु पनि भइरहेको जानकारी दिए। उनका अनुसार यस अघि पहिरो झरेर पन्छाइएका र पहिरो जाने सम्भावित क्षेत्रमा डोजरहरू तयारी अवस्थामा राखिएको छ।
धादिङकै जवाङखोला क्षेत्रमा पनि बाढी पहिरोले धेरै क्षति गरेको पत्रकार दानबहादुर गुरुङले जानकारी दिए। ‘मौवा खोलाले त पुल मात्रै बगायो । जवाङले मान्छेको घर पनि बगाएको छ,’ उनले भने, ‘मौवाखोलादेखि जवाङखोलाको बीचको सडकमा मात्रै आधा दर्जन भन्दा धेरै पहिरो खसेको छ। जवाङले ढुंगा खानीको एक्साभेटर, टिपरहरु पुरेको छ।

थाहाखबर

