
वसन्त अनुभव
दाङ बंगलाचुली, १५ साउन
जिल्ला प्रशासन कार्यालय दाङले बंगलाचुली गाउँपालिका वडा नं.-५ साकिनेका पहिरोमा परि पुरिएर मृत्यु भएका मृतकका परिवारलाई घरमै पुगेर राहत प्रदान गरेको छ ।
अविरल वर्षाका कारण घर माथिको कान्लो खसेर आएको पहिरोले घर पुरिदा बुधबार बंगलाचुली गा.पा.५ साकिनेका एकै घरका २४ वर्षीय बाटुली नेपाली र निजको २ वर्षीय छोरी आयुष्मा नेपालीको मृत्यु भएको थियो । मृतक बाटुलीको लोग्नेको पनि गतवर्षमात्र निधन भएको थियो ।
जिल्ला प्रशासन कार्यालय दाङले जनही १ लाख ५० हजारका दरले जम्मा नगद ३ लाख रुपैया मृतकका परिवारलाई प्रदान गरेको थियो । कार्यालयले मृतकका ससुरा देविराम परियारलाई सो नगद हस्तान्तरण गरिएको हो।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा दाङले पनि पिडित परीवारलाई राहात सामग्री हस्तान्तारण गरेको थियो ।

सो अवसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली ,बंगलाचुली गाउँपालिका वडा नं.-५ का अध्यक्ष एनुराज खत्री , जिल्ला प्रशासन कार्यालय दाङका अमरराज शर्मा ,डिओसी दाङका विश्वप्रकास अर्याल,बंगलाचुली गाउँपालिकाका नि.का.प्र. नारायण प्रसाद आचार्य, संचारकर्मी लगाएतका टिमको सहभागिता रहेको थियो ।

