
काठमाडौं
सरकारले आज राती १२ बजे पछिबाट मुलुकमा जारी लकडाउन अन्त्य गर्दैछ । कोरोना भाइरसको सम्भावित जोखिमलाई न्युुनिकरण गर्न भनी जारी लकडाउन १२० दिन पछि मात्र आज साउन ६ गते राती १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको छ । लकडाउन गत चैत्र ११ गते बाट जारी गरिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडा जानकारी दिए ।
लकडाउनको अन्त्य भएको घोषणा गरिए पनि सुरक्षाका उपाय भने निरन्तर अपनाउनुपर्ने र त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरू अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।
सीमा नाका भने आगामी साउन ३२ गतेसम्म बन्द गर्ने निर्णय भएको उनले बताए । साथै नेपाल आउनै पर्ने नागरिकका लागी तोकिएको सीमानाकाबाट आउन दिने र लुकिछिपी आएमा कानुन अनुसार कार्वाही हुने समेत जानकारी दिए ।
त्यस्तै सरकारले १ भदौ बाट विद्यार्थी भर्ना, परिक्षाफल प्रकाशन, लामो दूरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
अर्को निर्णय नभएसम्मका लागि केही निश्चित सेवाहरु भने संचालन नहुने निर्णय भएको बताए । शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरू, ट्युसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन, ब्युटिपार्लर, स्वीमिङ पुललगायतका क्षेत्र बन्द राख्ने निर्णय भएको बताए ।


