बिजौरी, दाङ, १८ असार

दाङ जिल्लाको बिजौरीमा अवस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले आज तुलसीपुरको हेमनगर र ड्वाङपुरमा कम्युनिटी बेस्ड हेल्थ क्याम्प संचालन गरेको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका चिकित्सक डा गोकर्ण दाहालको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलिले तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ को हेमनगर र वडा नं. १४ को ड्वाङपुरमा हेल्थ क्याम्प संचालन गरेको हो ।
हेमनगरको हेल्थक्याम्पमा वडा नं. १२ का अध्यक्ष सुर्य बहादुर डाँगी र ड्वाङपुरको हेल्थ क्याम्पमा वडा नं. १४ का अध्यक्ष परशुराम चौधरीको आथित्यता रहेको थियो । आफ्नो वडामा हेल्थक्याम्प संचालन गरेकोमा वडाध्यक्षद्वयले खुशी ब्यक्त गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा टोलि प्रमुख डा गोकर्ण दाहालले मुलुकमा फैलिरहेको कोरोनाको महामारीको बेलामा हेल्थ क्याम्पबाट वितरित औषधिले रोग विरुद्ध प्रतिरक्षा शक्ति वृद्धि गर्नमा कोशेढुंगा सावित हुने बताउनुभयो । साथै उहाले औषधि सेवन विधि, मात्रा, फाइदा आदिको बारेमा सर्वसाधारणलाई जानकारी गराउनु भएको थियो । साथै डा दाहालले हेल्थ क्याम्प अन्य वडाहरुमा पनि गरिने जानकारी दिनुभयो ।
डा दाहालको नेतृत्वमा गएको हेल्थ क्याम्प टोलिमा वसन्त केसी (वरिष्ठ कविराज निरीक्षक, अधिकृत सातौ), राधा केसी (अस्पताल नर्सिङ निरीक्षक, अधिकृत छैठौं), मनिषा चौधरी ( कविराज, सहायक पाँचौ), शोभा घर्ती, दिपेस चौधरी लगायतका स्वास्थ्यकर्मी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

