
पत्नी गीता ढकालको हत्या पुष्टि भएपछि आजीवन कारावासको सजाय भोग्दै आएका रन्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइदिएपछि उनी आज छुट्दै छन्।
सशस्त्र प्रहरी बलको डीआईजी रहेकै बेला २७ पुस २०६८ मा उनले पत्नी गीता ढकालको हत्या गरेका थिए।
बुढानिलकण्ठस्थित घरमा हत्या गरेपश्चात गीताको शव मकवानपुर जिल्लाको जंगलमा लगेर जलाएको तीनै तहका अदालतमा पुष्टि भएको थियो।
काठमाडौं जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई सर्वश्वसहित जन्मकदैको सजाय गरेका थिए, त्यसविरूद्ध कोइराला सर्वोच्च अदालत पुगेका थिए।
१५ असार २०७७ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको सजाय घटाइदिएको हो।
सर्वोच्च अदालतले जन्मकैद बढी हुने भन्दै साढे ८ वर्ष मात्रै कैद गर्दा पनि ‘सजायको मकसद पूरा हुने’ भन्दै कैद घटाउने निर्णय गरेको हो।
८ माघ २०६८ मा पक्राउ परेपछि थुनामा रहँदै आएका उनको आज ८ वर्ष ६ महीना कैद पूरा हुन्छ। डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले कोइराला आज जेलमुक्त हुने बताए।

