शुक्र मोक्तान

साउदी अरब| साउदी अरबमा बहिर्गमन भिषा लिईसकेका नेपाली श्रमिकहरू विगत लामो समय देखी विश्व व्यापी कोरोना भाईरसको कारण उत्पन्न महामारीले गर्दा नेपाल जान नपाई विभिन्न प्रकारको समस्याको सामाना गरीरहेका मध्ये नेपाल सरकारले तय गरिएको प्राथमिकताको आधार अनुसार प्राथमिकतामा परेको ३३ सय १३ जना मध्ये २० जुन २०२० मा नेवानिको उडान मार्फत साउदी अरबको राजधानी रियाद बाट १ बालक र दुताबास रियादको सेल्टरमा आश्रय लिएर बसेको ४ महिला सहित २४७ जना नेपालीहरू स्वदेश फर्किएका छन् (१८ जुन २०२० का दिन हिमालय एयरको उडान मार्फत १५३ जना साउदीको दम्माम बाट फर्किसकेको छ https://himalayandristi.com/?p=9457 ) ।
नेपाल फर्किनै पर्ने नेपाली श्रमिकहरू संगै नेवानिको उक्त विमानमा साउदी अरबमा विभिन्न कारणले मृत्यु भएका र त्यसमध्ये दुताबासले एनओसी प्रमाणपत्र जारी गरेका मध्ये कम्तिमा ४ वटा शवहरू नेपाल पठाउने दुताबासको तयारी रहे तापनि एउटा पनि शव नेवानिको विमानमा नेपाल पठाउन सकिएन । नेपाली दुताबास रियादका अनुसार उडान समयावधि एकदमै छोटो र साप्तान्तको(सरकारी कार्यलय बन्द) समय पर्न गएको कारण उडान सम्बन्धि अन्तिम तथा महत्वपूर्ण कागजी काम पुरा गर्न नसक्दा शवहरू पठाउन नसकिएको बताईएको छ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले २० जुन २०२० शनिवारका दिन सार्वजनिक गरेको तथ्यांक अनुसार साउदी अरबमा विभिन्न कारणले मृत्यु भएको श्रमिकको ९८ वटा शव रहेको बताए पनि नेपाली दुताबास रियादको निगरानीमा दश दर्जन भन्दा बढी शवहरू रहेको बुझ्नमा आएको छ जस मध्ये २४ वटा शवको लागी एनओसी जारी भईसकेको छ भने हिमालय एयरको उडान बाट गत १८ जुनमा १ वटा शव नेपाल पुगिएको छ। बाँकी रहेको मृतकको कागजी कामकार्वाही जारी छ भने प्राप्त जानकारी अनुसार जस मध्ये ५ वटा शव अवैध श्रमिकको रहेको बुझिएको छ । साथै विभिन्न स्रोत बाट प्राप्त सुचना अनुसार करिब डेड् दर्जन भन्दा बढी नेपालीको कोरोना संक्रमण बाट मृत्यु भएको बुझिएको छ। उक्त सुचनालाई आधिकारीक निकाय बाट पुष्टि सहित सुचाना सार्वजनिक भएको छैन।विशेष स्रोत बाट प्राप्त जानकारी अनुसार कोरोना संक्रमण बाट मृत्यु भएको मध्ये करिब एक दर्जन शवहरू साउदी अरबमा नै अन्त्येष्टि गर्ने अनुमती समेत प्राप्त भईसकेको बुझिएको छ ।
“कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरबमा असहज अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन नेपाल सरकारले सहजिकरण गरिएको उक्त रियाद बाट हुने उडानको लागी नेपाली दुताबास रियादले ४४५ जनाको नामावली सार्वजनिक गरेको थियो। तथापी नेवानिको २७४ जना यात्रु क्षमता रहेको विमान मार्फत २४७ जना मात्र स्वदेश फर्किएको हो भने अन्य बाँकी यात्रुको लागी २६ जुन २०२० मा पुन: रियाद बाट नेवानिको अर्को उडान हुने एयरलाइन्स प्रतिनिधि सुरेश राज त्रिपाठीले बताएका छन्।

त्रिपाठीका अनुसार २० जुनको उडानको लागी २६४ थान टिकट बिक्री गर्ने अनुमती पाएकोमा २५९ थान टिकट बिक्री गरिएको र बोर्डिंग पास २५० जनाले मात्र लिएको र त्यस माध्ये पनि ३ जनाको कागजात तथा कानुनी अड्चनका कारण विमान स्थल बाट फर्किएको छन्। उनले टिकट लिएर पनि उडान भर्न नपाएका श्रमिकहरूको टिकट वापतको रकम फिर्ता गरिने जनाएको छ।
उक्त नेवानिको उडान बाट स्वदेश फर्किँदै गरेको नेपाली नागरिकलाई बिदाई गर्न नेपाली दुताबास रियादका राजदुत प्रा.डा. महेन्द्र सिंह राजपुत, नियोग उपप्रमुख दिलिप पौड्याल, द्वितीय सचिव भरत खनाल लगायत दुताबासका अन्य पदाधिकारीहरू विमान स्थल पुगेका थिए । गैर आवसिय नेपाली संघको निरन्तर समन्वय र नेपाली नियोगहरूको पहलमा नेपाल सरकारले श्रमिक स्वयंले सम्पूर्ण खर्च व्यहोर्ने गरी उक्त उडानको सहजीकरण गरेका थिए।


