
असार ३,
न्युज डेक्स
ठोरी गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका ५० जना ठोरीबासीको स्वाब टेस्ट गर्दा मंगलबार नतिजा नेगेटिभ आएसंगै सबैजना क्वारेन्टाइनबाट बुधबार घर गएका छन् ।गाउँपालिकाको ५ ओटा क्वारेन्टाइनमा रहेका ५ जना बाहेक अन्य सबै भारतबाट २ साताअघि नेपाल आएका थिए ।उनीहरु सबैलाई गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ ,उपाध्यक्ष शान्तिमाया थिङ र क्वारेन्टाइन रहेको सम्बन्धित वडाका वडाध्यक्षहरुले खादा लगाएर विदाई गरेका थिए।
उनीहरु सबैको वितेको जेठ २७ गते कोरोना परीक्षणका लागी ठोरी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले थ्रोट स्वाब संकलन गरेर सोही दिन परीक्षणका लागी बीरगंज पठाएका थिए।बीरगंजमा रहेको कोरोना परीक्षण प्रयोगशालामा ढिलो हुने भएपछि नेपाली सेनाले स्वाब धुलिखेल रहेको कोरोना परीक्षण प्रयोगशालामा लगेर परीक्षण गरेको ठोरी गापाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिए।

थ्रोट स्वाब संकलन गरिएका सबैको नतिजा नेगेटिभ आएपछि वडा १ को दीपकनगर प्राविधिक मावि क्वारेन्टाइनबाट ९ जना,वडा २ को सरस्वती मावि क्वारेन्टाइनबाट २ जना र वडा ३ को गृष्म आधारभूत विद्यालयको क्वारेन्टाइनबाट ३१ जना घर गएका छन् ।त्यसैगरी वडा ३ कै नेपाल राष्ट्रिय मावि ओडार क्वारेन्टाइनबाट ४ जना र वडा ४ को ज्ञानज्योती मावि क्वारेन्टाइनबाट ४ जना घर गएका हुन् ।
वडा ३ मा रहेकोे क्वारेन्टाइनमा रहेकाहरुलाई गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ र वडाध्यक्ष सुर्य बहादुर लामाले खादा लगाएर क्वारेन्टाइनबाट बिदाइ गरेका छन् ।वडा ४ को ज्ञान ज्योति मावि क्वारेन्टाइनमा रहेकाहरुलाई उपाध्यक्ष शान्तिमाया थिङ र वडाध्यक्ष बई बहादुर पाख्रीन लगायतले खादा लगाएर विदाई गरेका छन् भने उता वडा १ र २ को क्वारेन्टाइनबाट घर गएकाहरुलाई वडाध्यक्ष राम प्रकाश कुँवर र किशोर तामाङले विदाई गरेका छन् ।
सामुदायिक रेडियो बिजयबस्ती


