पर्यटन मन्त्रालयको कच्चा निर्णयले श्रमिक उद्धारका उडान रद्ध हुदै, विदेशी एयरलाइन्सलाई फाइदा

  • २ असार २०७७, मंगलवार १६:४४ मा प्रकाशित
  • काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार उडानको हवाई भाडा महंगो निर्धारण गरेपछि अहिले धमाधम उडानहरु रद्ध हुन थालेका छन् । हालसम्म नेपाल र हिमालय एयरलाइन्सले निर्धारण गरेको ८ उडान रद्ध भइसकेका छन् ।

    उच्चस्तरिय समितिले उद्धारको बिषयमा निर्णय ढिलो गरेकै कारण दूतावासहरुले श्रमिकहरुलाई तयार पार्न नसकिएको भन्दै अहिले दैनिक   निर्धारण भएको उडान रद्ध भइरहेको छ । 

    नेपाल एयरलाइन्सका एक उच्च अधिकारीका अनुसार सरकारको आलोकाचो निर्णयकै कारण विभिन्न दूतावासहरुले धमाधम उडान रद्ध भएको जानकारी गराइरहेका छन् । केहिले चर्को भाडा दरलाई समस्याको रुपमा देखाउदै आएका छन् भने केहिले स्वास्थ्य परिक्षण गर्न ढिलाई भएको भन्दै उडान रद्ध गरिरहेको बताए ।

    ‘सरकारले दूतावासहरुलाई तयारीका लागि केहि समय दिनुपर्नेमा एक्कासी निर्णय गर्दा उहाँहरुलाई समय लागेको हो,’ ती अधिकारीले क्यापिटलसँग भने ‘त्यसले गर्दा नेपाल एयरलाइन्समा समेत भद्रगोल भएको छ ।’ कर्मचारी व्यवस्थापन देखी स्लट लिन समस्या भएको ती अधिकारीको भनाई छ । एकातिर पर्यटन मन्त्रालयले निर्धारण गरेको तालिकामा उडान रद्ध भइरहेको छ भने अर्को तर्फ त्यहि बेला अन्य ठाउँमा हुने चार्टड उडानको लागि अर्डर लिन समेत समस्या भएको ती अधिकारीले बताए । सोहि कारण धरासायी भएको नेपाल एयरलाइन्स झन समस्या परेको उनको भनाई छ ।

    मलेसिया, साउदी र कतारका राजदूतको कुरा सुनेन 

    मलेसिया, साउदी र कतारका राजदूतहरुले चार्टड उडान महंगो हुने भन्दै केहि समयका लागि व्यवसायीक उडान खुला गर्न सरकारलाई अनुरोध समेत गरेका थिए । त्यति मात्र हैन, उनीहरुले यदी चार्टड उडान नै गर्ने भएपनि १० देखी १५ दिन अगाडी जानकारी दिनुपर्ने बताएका थिए । तर, राजदुतहरुको सुझावलाई कुनैपनि निकायले मनन गरेनन् । पर्यटन मन्त्रालयले जेठ २७ गते भाडा निर्धारण गरि सम्बन्धीत एयरलाइन्सहरुलाई पत्रचार गरेको थियो ।

    स्वास्थ्य परिक्षणको रिपोर्टले समस्या

    चौतर्फी आलोचना भएपछि सरकारले दुई पटक भाडा घटाएको भएपनि विदेशमा रहेका श्रमिकहरु आउन अझै आनाकानी गरिरहेका छन् । एकातिर जहाजको भाडा महंगो र अर्को तर्फ नेपाल आउदा अनिवार्य स्वास्थ्य परिक्षणको रिपोर्ट बुझाउनुपर्ने प्राबधानले श्रमिकलाई समस्यामा पारको छ । 

    स्वास्थ्य परिक्षण तथा काठमाडौंमा आएपछि १४ दिन क्वारेन्टाइनमा बस्दा लाग्ने खर्च पनि स्वयम श्रमिकले नै बेहोर्नुपर्ने प्रावधानले उनीहरुलाई हच्काएको छ । विदेशमा बेरोजगार हुँदा पनि फर्कदा बेहोर्नुपर्ने ठूलो खर्चकै कारण स्वदेश आउन कठिनाइ भइरहेको श्रमिकहरुको भनाई छ । उनीहरु भन्छन् ‘एकातिर विदेशमा रोजगारी गुमाएर तीन महिनाभन्दा बढीदेखी अलपत्र परेको पीडामा छौ । त्यसमाथी सरकारले चार्टड उडानको नाममा चर्को भाडा लाद्ने निर्णय गरेपछि झन पीडित बनेका छौ ।’ 

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जेठ ३२ देखी असार ११ सम्म पहिलो चरणमा करिब २५ हजार नेपालीलाई उद्धार गर्ने निर्णय गरेको छ । तर, सम्बन्धीत मुलुककै खर्चमा बाहेक अन्य देशबाट नेपालीहरु आउन सकिरहेका छैनन् ।

    कहाँ कहाँ भयो उडान रद्ध

    साउदीको दमामबाट असार १ गते हुने उडान रद्द भएको छ भने सोही दिन माल्दिभ्सको उडान पनि नेपाल आउन सकेन । यूएईबाट मंगलबार र बिहीबारलाई निर्धारण गरिएको उडान पनि रोकिएको छ । कतारको दोहाबाट हुने भनिएको दुई वटा उडान पनि रोकिएको छ । असार ३ गते तय गरिएको बहराइनको उद्धार उडान र साउदीको दमामबाट बिहीबारको लागि निर्धाण गरिएको उडान रोकिएको छ ।

    सस्तोमा ल्याउदै सलाम एयर

    सरकारले निर्धारण गरेको मुल्य भन्दा प्रति व्यक्ति करिब २५ हजार रुपैयाँ सस्तोमा ओमानबाट सलाम एयरले नेपालीहरु ल्याएको छ । सोमबार सलामले १ सय ६६ जना नेपालीहरुलाई काठमाडौंमा ल्याएर फर्किसकेको छ भने अझै दुई उडान गर्ने तयारी गरिरहेको छ ।

    पर्यटन मन्त्रालयले तोकेको भाडा महंगो भएको भन्दै ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली सहित विभिन्न नेपाली संघस्थाको समन्वयमा सलाम एयरले नेपालीहरुको उद्धार गरेको हो । पर्यटन मन्त्रालयले ओमनको लागि ३६० डलर तोकेको थियो भने ओमनमा रहेको नेपाली दूतावासले ११५ ओमनी रियल (३०० अमेरिकी डलर) तोकेको छ । आजको क्यापिटल नेपाल्.कमले छापेको छ ।

    Leave a Reply