बुटवल, १३ असार
नेपालमा पनि सलह किरा देखिन थालेको छ । रुपन्देहीमा सलह किरा देखा पर्न थालेपछि किसानहरूको बालिनाली जोगाउने उद्देश्यले प्रदेश नं.५ सरकारले सलह किरा २० रुपैया प्रतिकिलो दरमा किन्ने भएको छ ।
सलह किरा पकडेर ल्याउने ब्यक्तिलाई प्रती के जि २० रुपैया नगद प्रोत्साहन स्वरुप दिने निर्णय प्रदेश ५ ले गरेको छ । प्रदेश नं.५, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचीव तेज बहादुर वलीले सलह पकडेर ल्याउने ब्यक्तिलाई १ किलोको २० रुपैयाँका दरले नगद भुक्तानी दिने ब्यवस्था गरेको जानकारी दिनुभयो । जसका लागि सलह किरा पकडेर सम्बन्धित पालिकाको वडा कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।
मन्त्रालयले सलह नियन्त्रणका लागि मालाथिन र क्लोरपाइरिफोस नामक विषादी छर्कन सकिने पनि बताएको छ । जसको लागि मालाथिन ३ एम एल प्रतिलिटर र क्लोरपाइरिफोस २ एम एल प्रतिलिटर पानी मिसाएर छर्कनु पर्ने हुन्छ ।साथै मन्त्रालयले धानको विउलाई जोगाउन त्रिपाल वा प्लास्टिक छोपेर राख्न भनेको छ ।


