
गोरखा । गोरखामा हाल १ सय ३२ जना मास क्वारेन्टिनमा रहेका छन् ।
जिल्लाका ११ वटा स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टिनमा उनिहरुलाई राखिएको छ ।यसरी क्वारेन्टिनमा राखिएका मध्ये अधिकांश भारतबाट आएकाहरु रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
त्यस्तै भारत लगायत जिल्ला बाहिरबाट गोरखा प्रवेश गर्नेहरु मध्ये हालसम्म मास क्वारेन्टिनमा राखिएकोमा २ सय १६ जनालाई घर पठाइएको छ । १४ दिनसम्म क्वारेन्टिनमा राखेर आरडिटी परिक्षणमा नेगेटिभ नतिजा आएकाहरुलाई होम क्वारेन्टिनमा पठाइएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
तर हाल क्वारेन्टिनमा रहेकामध्ये अधिकांश भारत लगायतबाट आएकाले एक हप्तापछि आरडिटी र पिसिआर दुवै परिक्षण गरिने उनले बताए ।
हालसम्म उनिहरुमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत पौडेलले जानकारी दिए ।
यसैगरी गोरखामा हालसम्म १ सय ७० जनाको पिसिआर परिक्षण भएको छ । भारतबाट आएका, शंकास्पद लक्षण देखिएका विरामी लगायत गरी १ सय ७० जनाको कोरोना परिक्षण गर्दा १ सय ५६ जनाको नेगेटिभ नतिजा आएको प्रमुख जिल्ला अधिकारी समेत रहेका कमाण्ड पोष्टका अध्यक्ष पौडेलले बताए । पिसिआर परिक्षण गरिएका मध्ये १४ जनाको भने रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
त्यस्तै गोरखामा हालसम्म ९ सय ८२ जनाको आरडिटी परिक्षण गर्दा ७ जनाको पोजेटिभ देखिएको छ । यसरी आरडिटीमा पोजेटिभ देखिएका ७ जनाको पिसिआर परिक्षणमा भने नेगेटिभ देखिएको पौडेलले बताए ।
सिभिलखबर.कमबाट ।

