यी खानेकुरा, जसले बढाउँछ रोगसँग लड्ने क्षमता !

  • १९ बैशाख २०७७, शुक्रबार १७:२८ मा प्रकाशित
  • इम्युनिटी सिस्टम एवं रोग प्रतिरोधात्मक तन्त्रले हाम्रो शरीरमा संभावित रोगको संक्रमणबाट रक्षा गर्छ । हरेक जीवित मानिसको शरीरमा रोग प्रतिरोधात्मक तन्त्र नामको यस्तो संयन्त्र हुन्छ, जसले ब्याक्टेरिया, भाइरस आदिबाट शरीरलाई टाढा राख्छ । अतः रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानपान र दिनचर्या निकै महत्वपूर्ण हुन्छ । त्यसो त हाम्रो भान्सामा यस्ता खानेकुरा उपलब्ध हुन्छन्, जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।
    प्याज

    प्याजमा फ्लेवेनाइड्स नामको तत्व सामिल हुन्छ, जसले हाम्रो शरीरको धमनीमा विशाक्त तत्व जम्मा हुन दिदैन । यसले सुन्निने समस्या आउन दिदैन । त्यसैले प्याजको सेवन शरीरको लागि लाभदायक हुन्छ । यसलाई सब्जीमा मिसाएर वा सलादको रुपमा काँचो खान सकिन्छ ।
    लसुन
    लसुन हाम्रो शरीरमा ब्लड प्रेशर कम गर्छ । यसमा हुने एन्टि क्यान्सर र एन्टिअक्सिडेन्टले शरीरको विषाक्त तत्व बाहिर निकाल्छ । नियमित रुपमा हरेक विहान उठ्नसाथ खाली पेटमा लसुन सेवन गर्नुपर्छ । यसले श्वास नलीको समेत सफाई गर्छ ।
    अलसी
    अलसीमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै पेटलाई पनि सफा राख्छ । हरेक विहान आधा चम्चा अलसीको बिज सेवन गर्दा कब्जियतको समस्या रहँदैन ।
    कागती
    कागतीले एक डिटाक्सीफायरको रुपमा काम गर्छ । नियमित रुपमा हरेक विहान कागती पानी सेवन गर्नुपर्छ, जसले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ ।
    बन्दा
    सब्जी वा सलादको रुपमा बन्दाको सेवन गर्न सकिन्छ । यो स्वादिलो त हुन्छ नै, स्वास्थ्यका लागि लाभदायक पनि । बन्दाले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले पाचन नलीलाई पनि सफा बनाउँछ ।
    च्याउ
    च्याउमा एन्टि अक्सिडेन्ट भरपुर मात्रामा हुन्छ । यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । च्याउमा भिटामिन डि, बि–१, बि–३, बि–५, बि–६ आदि पाइन्छ । यसले हड्डीलाई पनि बलियो बनाउँछ । तौल घटाउन र सुगर लेबल सहि राख्नका लागि च्याउ उपयोगी हुन्छ ।
    बेसार
    बेसार एन्टि अक्सिडेन्टको राम्रो श्रोत हो । यसले रगत शुद्ध बनाउने काम गर्छ । साथै शरीरको रुप र रंगमा सुधार ल्याउन पनि बेसार उपयोगी हुन्छ । यसले क्यान्सरदेखि अल्जाइमरसम्मका रोगबाट मुक्त गराउने क्षमता राख्छ । बेसारमा रहेको करक्यूमिन नामक तत्वले रगतमा सुगरको स्तर नियन्त्रण गर्छ ।
    व्यायाम र स्वस्थ्य दिनचर्या
    सन्तुलित खानपानसँगै नियमित व्यायाम, स्वस्थ्य दिनचर्या पनि आवश्यक हुन्छ, रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि ।
    पानी – पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ । यसले गर्दा मृगौलाको कार्य प्रणाली चुस्त दुरुस्त रहन्छ । शरीरको विषाक्त पदार्थ वाहिर जान्छ । यसले प्रतिरोधात्मक क्षमता बढ्छ ।
    निद्रा– पर्याप्त निद्रा लिनुपर्छ । यदि राम्ररी निन्द्रा पुगेन भने पनि शरीरको रोग सँग लड्ने क्षमता कमजोर हुन्छ ।  शरीर र मस्तिष्कले सहि ढंगले काम गर्नका लागि ६ देखि ८ घण्टाको निद्रा आवश्यक छ ।
    सरसफाई– रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि वातावरण स्वच्छ हुन आवश्यक छ । किनभने फोहोर मैलाबाट रोगको संक्रमण फैलने भय रहन्छ । त्यसो त वातावरण मात्र होइन आफ्नो लता कपडा, भाँडा बर्तन, ओड्ने ओछ्याउने, पहिरन सबै कुरा सफा हुनु पर्छ ।

    Leave a Reply