
१७ जेठ सर्लाही ।
चन्द्रनगर गांउपालिका २, सर्लाही, प्रदेश २ का गर्भवती तथा सुत्केरी आमा भएको ९३ विपन्न परिवारलाई एकिकृत पोषण प्याकेज प्रदान गरिएको छ । राज्यका तीनै अङ्ग तथा विकास साझेदारबाट गर्भवती महिला, सुत्केरी तथा स्तनपान गराउने आमा, पांच वर्षमुनिका बालिबालिका तथा किशोरीलाई कुपोषणको महामारी र त्यसबाट हुन सक्ने सम्भावित मृत्यूबाट बचाउन कुनै ठोस पहल नभए पश्चात भोरले विषेश एकिकृत पोषण प्याकेज अगाडी ल्याउदै १ मे २०२० देखि नेपालको सात प्रदेशका सात वडाबाट यस्को शुरुवात गरेको थियो ।
यसै क्रममा मिथिला वाइल्डलाइफ ट्रस्टले छोरा छोरी, गानडिज र लास्ट नाइट अ डिजे सेभड माई लाइफ संस्थाहरुको आर्थिक सहयोगमा यस विषेश एकिकृत पोषण प्याकेजमा सहकार्य गरेको छ । मिथिला वाइल्डलाइफ ट्रस्ट र भोरको सहकार्यमा देशका १५ जिल्लाका २२५० विपन्न परिवारका गर्भवती तथा सुत्केरी आमालाई उक्त पोषण प्याकेज प्रदान गर्ने योजना अनुरुप आज चन्द्रनगर २ मा ९३ परिवारलाई वितरण गरिएको भोरको कोषाध्यक्ष उमेश कुमार साहले बताए । कोषाध्यक्ष साहकै संयोजन र व्यवस्थापनमा उक्त प्याकेज वितरण गरिएको छ ।
लकडाउनको ६५ दिनसम्म पनि कुनै तहबाट गर्भवती तथा सुत्केरीलाई पोषण सामाग्री नपाएर कुपोषण चपेटा आउदै गरेकोले गर्दा यी परिवारलाई मिथिला वाइल्डलाइफ ट्रस्ट र भोर संस्थाले प्रतिपरिवार २० किलो चामल, १ किलो दाल, ०.५ लिटर खानेतेल, ०.५ किलो सोयाबिन, ३ किलो हरियो तरकारी, १ किलो आयोडिनयुक्त नुन, १ किलो गेडागुडी, १५ वटा अण्डा र स्थानीय स्तरमा उपलब्ध फलफुल केरा र कांको प्रदान गरिएको मिथिला वाइल्डलाइफ ट्रस्टका प्रमुख देव नारायण मण्डलले जानकारी गराए ।
विषेश पोषण तथा हेरचारको आवश्यकता रहेका गर्भवती तथा सुत्केरीलाई यस्तो चरम अभाव र लकडाउनको बेला यती पोषिलो खाध्य सामाग्री प्रदान गरेर ठुलो गुण लगाउनु भएको छ, बबरगंजकी सागरदेवी माझी मुसहरले खुशी हुदै बताए । आफ्ना लागि बिहान बेलुकाको छाक टार्न समस्या भइरहेको समयमा उनीहरुका लागि आवश्यक पौष्टिक आहारको व्यवस्था गर्न नसकेको बिर्ताबजारकी गर्भवती सकिना खातुनले बताएकी छिन् ।
वडा नम्बर २ का वडा सदस्यहरु राम राय, लिलिया देवी र रामपरी देवी माझीको उपस्थितीमा वितरण भएको उक्त पोषण प्याकेज बबरगंजका राजनीतिक दलका नेताहरु चेत नारायण महतो, मनसिप महतो, नथुनी साहको हाथबाट पनि प्रदान गरिएको थियो ।
गर्भवती, सुत्केरी तथा बालबालिकाको पोषणको लागि तीन तहको सरकार र विकास साझेदार मध्ये कसैको पनि कुनै उपस्थिति नदेखिएको जानकारी पाएपछि एकिकृत पोषण प्याकेज वितरण गरिएको भोरको अध्यक्ष पचुलाल माझी मुसहरले बताए ।
चन्द्रनगर २ मा उक्त प्याकेज वितरण तयारी तथा व्यवस्थापनमा उक्त गांउका युवाहरु संजय महतो, राम ईश्वर महतो, इन्द्र भुषण ठाकुर, मुकेश कुमार साह, सुरेन्द्र साह, हेमन महतो, अर्जुन श्रेष्ठ र शभ्मु बैठा लगायतले स्वंयसेवकको रुपमा योगदान गरेका थिए ।

‘कोभिड९१९ को संक्रमणले मान्छे मर्छ कि मर्दैन त्यो पछिको कुरा होला । गर्भवती, सुत्केरी तथा बालबालिका कुपोषण तथा भोके मर्ने अवस्था आउन लागेको छ,’ भोरको महासचिव सरोज दुलालले जानकारी गराए । भोरले गरेको कार्यको प्रसंशा गर्दै चन्द्रनगर गांउपालिका, वडा नम्बर २ का अध्यक्ष राम नारायण महतोले गर्भवती र सुत्केरीको यो पोषण प्याकेज चन्द्रनगर गांउपालिकाका अन्य वडाहरुमा पनि सहयोग गरि दिन मिथिला वाइल्डलाईफ ट्रस्ट र भोरलाई आग्रह गरेका छन् ।

