
उमेश कुशवाहा
वीरगंज ५ जेष्ठ
खाद्यान्न , फलफुल , तरकारी र दुध जन्री पदार्थ बिहान ८:३० बजे सम्म खरिद गरि सक्नु पर्ने , कृषि जन्य सामाग्री र खेतीपातीको लागी सहज बाताबरण बनाउने समेत निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भएको हो।
जिल्ला प्रशासन कार्यालय पर्सामा सोमवार सम्पन्न सर्वपक्षिय वैठकले निषेधाज्ञा हटाउने र व्यवस्थित रुपमा लकडाउन जारी राख्ने निर्णय गरेको छ ।
वैठकले लकडाउनलाई पूर्ण पालन गरी कृषि कर्मलाई सुचार गर्ने, कृषिको लागि आवश्यक पर्ने वातावरणका लागि सहजिकरण गर्ने, खेतीपातीका लागि सामाजिक दुरी कायम गरी काम संचालन गर्ने, ढुवानीको सहज वातावरण बनाउने, अतिआवश्यक उद्योगहरु संचालन गर्ने, मलखाद, विउ विजनको उचित प्रबन्ध गर्ने, खेती गर्ने किसानलाई उचित प्रोत्साहित गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी बैठकले भारतीय तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने, मंगलबार देखि वीरगंजका अतिआवश्यक खाद्य सामग्री विक्री वितरण गर्ने किराना पसलहरुमा सामाजिक दुरी कायम गरी उच्च स्वास्थ्य सतर्कताका साथ ग्राहक र पसलेले सामान खरिद तथा विक्री गर्ने निर्णय गरेको छ ।
वैठकमा सञ्चारमाध्यम, सामाजिक कार्यकर्ता, राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक सञ्जाल मार्फत कोरोना सम्बन्धी सचेतनालाई अझै व्यापकता गर्ने निर्णय गरेको नेकपा पर्साका अध्यक्ष प्रभु हजराले जानकारी दिनुभयो । सर्वपक्षिय वैठकमा कोरोना परिक्षणका लागि पिसिआर किटको अभाव रहेकोहुँदा तत्काल स्वास्थ्य मन्त्रालयसँग आवश्यक किटको माग गर्ने निर्णय समेत गरेको हजराले जानकारी दिनुभयो ।

