
वसन्त अनुभव
दाङ
तुलसीपुर उपमहानगरपालिका वडा नं.४ का एक कोरोना संक्रमितको घर परिवारका सदस्यहरुमा गरिएको आरडिटी परिक्षण नेगेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेखित तुलसीपुर उपमहानगरपालिका वडा नं.७ का कोरोना पोजिटिभ भनिएका ब्यक्तिको कन्ट्याक्ट् ट्रेसिग गर्दै जादा नेगेटिभ भेटिएपछि पुन: ट्रेसिंग गर्दै जाने क्रममा संक्रमित ब्यक्ति वडा नं. ४ को एक पुरुष भएको जानकारी प्राप्त भएको र उक्त संक्रमित व्यक्तिको घरपरिवारका सबै सदस्यहरु ( ७ जना ) को आरडिटी परिक्षण गर्दा नेगेटिभ आएको तुलसीपुर उपमहानगरका कोभिड १९ का संयोजक विमल केसीले बताउनु भयो ।
साथै संक्रमित भनिएका ब्यक्तिको कुनै पनि ट्राभल हिस्ट्री नभएको पनि उहाँले जानकारी गराउनु भयो । संक्रमित ब्यक्ति आफ्नो आफन्तको उपचार गराउने सिलसिलामा गत चैत २७ गते नै दाङ छोडी काठमाडौ गएको र हालसम्म दाङ फर्की नआएको जानकारी प्राप्त भएकोले यस विषयमा प्यानिक नहुन पनि सम्पुर्ण नगरवासीलाई अनुरोध गर्नुभयो ।
साथै रक्षाचौर क्वारेन्टाइनमा ३६ जना रहेको र सवैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताउनु भयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा १४ जना ईण्डियावाट आएका व्यक्तिहरुलाई राखिएको पनि जानकारी गराउनु भयो ।
साथै उहाँले पिसिआर परिक्षणका लागि पठाइएको १६ जना ब्यक्तिहरुको थ्रोट स्याम्पलको परिक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भैरहेको र परिणाम छिट्टै आउने पनि जानकारी दिनुभयो ।

