प्रवासी नेपालीको अवस्था बुझ्न कांग्रेसले बनायो एप

  • ७ जेष्ठ २०७७, बुधबार २१:०९ मा प्रकाशित
  • ७ जेठ, काठमाडौं । विदेशमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मोवाइल एप र वेब एप निर्माण गरेको छ ।

    विभिन्न ४३ देशलाई लक्षित गरेर कांग्रेसको सूचना, सञ्चार तथा प्रसार विभागले एप निर्माण गरेको हो । ती एपहरुको कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो ३ बजे ट्विटरमार्फतसार्वजनिक गरे ।

    ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोषका साथ रेस्क्यू नेपाली एप र वेब एप सार्वजनिक गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    इजरायल, बेल्जियम, बेलायतलगायत ४३ देश लक्षित गरेर निर्माण गरिएको एपबाट विदेशमा अप्ठ्यारोमा परेका नेपालीको विवरण संकलन गर्ने मुख्य उद्देश्य कांग्रेसको छ ।

    एपमार्फत संकलित तथ्यांक वर्गीकरण गरेर प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धारमा सरकारलाई सघाउने तथा दवाब दिने प्रवक्ता शर्माले बताए ।

    कसरी प्रयोग गर्ने एप ?

    विदेशमा रहेका नेपालीले आफ्नो अवस्थाबारे जानकारी गराउन एप र वेब एप दुवै प्रयोग गर्न सकिन्छ । कांग्रेस प्रवक्ता शर्माका अनुसार, स्वयं व्यक्ति वा तिनका आफन्तले समस्यामा परेका व्यक्तिबारे विवरण भर्न सक्नेछन् ।

    एपमा नाम, हाल रहेको देश, सहर, सम्पर्क नम्बरलगायत विवरण भनुपर्ने छ । देश फर्कन चाहनेले त्यसको कारणलगायत विषय पनि खुलाउनुपर्नेछ । यही विवरणका आधारमा तिनलाई उद्धार तथा राहत गरिने कांग्रेसले जनाएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) ले महामारीको रुप लिएपछि विदेशमा रहेका नेपाली समस्यामा परेका छन् । खासगरी नेपालसँग सीमा जोडिएको भारतमा नेपाली अलपत्र परेका छन् ।

    यद्यपि, तिनको उद्धारमा सरकारले उदासीनता देखाउँदै आएको छ । ती नेपालीबारे निरन्तर चासो राख्दै आइरहेको कांग्रेसले पछिल्लोपटक प्रविधिको प्रयोग गरेर अवस्था बुझ्ने प्रयत्न थालेको हो ।

    अनलाईनखबर.कम.

    Leave a Reply