चिकित्सालयद्वारा क्वारेन्टाइन स्थलमा जडिबुटीजन्य औषधि वितरण

  • १ जेष्ठ २०७७, बिहीबार २१:५० मा प्रकाशित
  • वसन्त अनुभव
    चिराघाट, दाङ, १ जेठ २०७७
    दाङ जिल्लाको विजौरीमा अवस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले शान्तिनगर गाउँपालिकाको क्वारेन्टाइन स्थलमा पुगि त्यहाँ रहेका विरामी, स्वास्थ्यकर्मी लगायत सुरक्षाकर्मीलाई कोरोना सम्बन्धि सचेतना ब्रोसर सहित जडिबुटीजन्य औषधि वितरण गरेको छ ।

    प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय बुटवलले जारी गरेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि श्रोत सामग्री बमोजिम क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई औषधिजन्य जडिबुटी बितरण गरिएको हो ।

    जडिबुटी वितरण कार्यक्रमका प्रमुख अतिथी एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिङ डाँगीले मन्तव्य दिनुहुदै आयुर्वेद सबैभन्दा पुरानो मौलिक एवं राष्ट्रिय चिकित्सा भएकोले यसलाई वैकल्पिक चिकित्सा भन्न नहुने भन्नुभयो । साथै आयुर्वेद चिकित्सालाई राज्यले प्राथमिकतामा राख्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    कार्यक्रमको सभापति एवं प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरीका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुरले औषधिजन्य जडिबुटीहरु जस्तै गुर्जो, तुलसी, अमला, भुइअमला, यष्ठिमधु आदिले कसरी हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउछ भन्ने बारेमा जानकारी गराउनु भयो ।

    कोरोना संक्रमणको महामारीले सारा विश्वलाई नै गाजिरहेको छ । कोरोना विरुद्ध न अहिलेसम्म कुनै भ्याक्सिन निकाल्न सकिएको छ न उपचारका लागि औषधि नै । कोरोनाको कहरलाई आँखा चिम्लेर सहनु सिवाय अर्को विकल्प देखा परेको छैन ।

    कोरोनालाई मार्ने औषधि नबने पनि जडिबुटीजन्य औषधिको सेवन, विभिन्न योग प्राणायाम, ध्यानका माध्यमले मानव शरीरमा रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गरि कोरोनाबाट बच्न सकिने प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका आयुर्वेद चिकित्सक डा गोकर्ण दाहालले बताउनु भयो ।

    कार्यक्रममा शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर बिक, प्रादेशिक आयुर्वेद चिकित्सालयका कविराज निरीक्षक वसन्त केसी, शान्तिनगर गापा प्रवक्ता, विभिन्न वडाका वडाध्यक्षहरु, स्वास्थ्यकर्मीहरु लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको संचालन शान्तिनगर गापा स्वास्थ्यशाखा प्रमुख हरि बहादुर पुनले गर्नुभएको थियो । कार्यक्रममा गुडुची, अमला, यष्ठिमधु आदि जडिबुटीजन्य औषधि वितरण गरिएको थियो भने बाकी औषधि स्वास्थ्यशाखा प्रमुख हरि पुनलाई हस्तान्तरण गरिएको थियो ।

    Leave a Reply