चितवनको इच्छाकामना गाउँपालिकाले गर्‍यो अलपत्र ४६ जना नागरिकको उद्दार

  • २१ चैत्र २०७६, शुक्रबार १४:५८ मा प्रकाशित
  • कुरिनटार, २० चैत ।
    चितवनको एक मात्र गाउँपलिका इच्छाकामनाले देशका विभिन्न स्थानमा अलपत्र परेका आफ्ना गाउँपालिकावासी नागरिकहरुको उद्वार गरेको छ। कोरोना भाइरसको प्रभावका कारण देश लकडाउनमा रहेकोले मजदुरीका लागी देशका विभिन्न स्थानमा गएका गाउँपालिकाका ४६ जना नागरिकहरुको अलपत्र परेको खबर आएसँगै गाउँपालिकाले उनीहरुको उद्वार गरेको हो।


    समुन्द्र कन्स्ट्रक्सनले पर्वतमा निर्माण गरिरहेको सिंचाई आयोजनामा काम गर्न गएका इच्छाकामना १ हात्तिवाङ र मेत्राङका ३४ जना, गोरखा धार्चे गाउँपालिकामा सडक निर्माणमा गएका इच्छाकामना ३ माझगाउँका ३ जना र कास्की बेगनासमा मजदुरी गर्न गएका इच्छाकामना ४ धारापनी गैरिगाउँका ९ जना गरी ४६ जनाको उद्वार गरिएको छ।


    कार्यस्थलमा नै अलपत्र परेका उनीहरुको उद्वारका लागि गाउँपालिकाले १ ठुलो बस पर्वत, १ म्याजिक भ्यान पोखरा र गाउँपालिका उपाध्यक्षले प्रयोग गर्ने गाउँपालिकाकै गाडि बुधबार गोरखा पठाएको थियो।
    कास्की र धार्चेबााट उद्वार गरि ल्याईएकाहरुलाई उनीहरुकै घरमा होम क्वारेन्टाईनमा राख्न पठाईएको छ भने पर्वतबाट ल्याईएकाहरुलाई हात्तिवाङ र मैत्राङमा गाउँपालिकाले निर्माण गरेको मास क्वारेन्टाईनमा राखिने गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो।

    आफ्ना गाउँपालिकावासी नागरिक अलपत्र परेको खबर पाउने वित्तिकै हामीले जिल्लाका सिडियो तथा अन्य जिल्लाका सिडियो र प्रहरीहरुसँग समन्वय गरी उद्वारको काम थालेका थियौ, विभिन्न अवरोधका बिच आज हामीले उनीहरुलाई उद्वार गर्न सफल भएका छौं’ –अध्यक्ष गुरुङले भन्नुभयो।


    उद्वार गरिएका मजदुरहरुले आफुहरु हप्तादिन देखि अलपत्र परेको बताए। लकडाउनका कारण बाँकी रहेको खानेकुरा सकिएको र थप खानेकुरा ल्याउन नसकिएको कारण भोकभोकै बस्नुपर्ने बाध्यता आईलागेको इच्छाकामना १ मैत्राङका धन बहादुर चेपाङले बताए।

    अलपत्र हुने अवस्थामा गाउँपालिकाले उद्वार गरिदिएपछि एकदमै खुशी लागेको छ, विपत्मा हाम्रा पनि कोहि छ भन्ने महशुस भएको छ, त्यसैले अध्यक्ष उपाध्यक्ष सबैलाई धन्यवाद’ खुशी हुदै उनले भने।
    गाउँपालिकाले उद्वार गरी ल्याएका सबै मजदुलाई इच्छाकामना गाउँपालिकाको प्रवेशद्वार मुग्लिन पुलजीपमा ज्वरो परीक्षण गरी गाउँपालिका प्राङ्गणमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गरिएको थियो भने स्वास्थ्य प्रमुख बासुदेव सापकोटाले क्वारेन्टाइनमा बस्दा के–के सावधानी अपनाउने भनि मजदुरहरुलाई जानकारी दिएका थिए।


    उद्वार गरी ल्याईएका मजदुरहरुलाई इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले इच्छाकामना गाउँपालिकाको प्रवेश नाका मुग्लिन पुलजीपमा स्वागत गरेका थिए।

    इच्छाकामना.कम बाट साभार

    Leave a Reply