
दाङ : कोरोना संक्रमणको परीक्षणका लागि दाङमै किट आइपुगेको छ। किट आएसँगै कोरोनाको र्यापिड परीक्षण अब दाङमै हुने भएको छ। र्यापिड टेस्टका लागि क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गरिनेछ।
टेष्टका लागि शनिबारै १ सय वटा किट दाङमा आइपुगेको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङका सूचना अधिकारी कमल चन्दले बताए।आइतबारबाटै परीक्षणलाई अगाडि बढाइने समेत उनले बताए। र्यापिड टेस्टमा नेगेटिभ देखिए एक साता क्वारेन्टाइनमा बसाई घर फर्काउने र पोजेटिभ देखिए आइसोलेसनमा राखेर स्वाब परीक्षण गरिने पनि उनले बताए।
दाङबाट स्वाब परीक्षणको लागि बुटवल वा काठमाडौंमा लैजाने गरिएको छ। जिल्लाभर अहिले ४४ जना क्वारेन्टाइनमा बस्दै आएका छन्। यो भन्दा अगाडि १४ दिन क्वारेन्टाइनमा बसिसकेकाको भने किटको अभावका कारण चेकजाँच नगरिने भएको छ। अन्यको भने आइतबारबाटै सुरु हुनेछ। त्यसैगरी बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा शनिबार एक जना नयाँ बिरामी भर्ना भएका छन्।
घोराही गोग्लीका एक जना शनिवार दिउँसो साढे ३ बजे अस्पताल भर्ना भएका हुन्। यसअघि अस्पतालमा रहेका २० जनालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. सर्बेश शर्माले बताए। उनीहरुको मंगलबार स्वाब परीक्षणका लागि काठमाडौ पठाइएको थियो। तर सबैको रिर्पोट नेगेटिभ आएको थियो।
ThahaKhabar

