
-वसन्त अनुभव-
तुलसीपुर,दाङ, १६ बैशाख
तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्वन शाखाले नगर कार्यक्षेत्र भित्रका स्वास्थ्यसंस्थाद्वारा संकलित दिर्घरोगीहरुको तथ्यांक विवरणका आधारमा स्वास्थ्यसंस्थाहरुमा केही दीर्घ रोगहरुको लागि अति आवश्यक औषधिहरुको आपूर्ति गरेको छ ।
शाखाले आपूर्ति गरेको औषधिहरुमा उच्चरक्तचाप तथा मुटु रोग, मधुमेह आदि रोगमा प्रयोग हुने औषधिहरुमा जस्तै एम्लोडिपिन ५ एमजी, एटोरभास्टाटिन १० एमजी, मेटफर्मिन ५०० एमजी आदि रहेको छ । यी औषधिहरु आवश्यकता अनुसार स्वास्थ्यसंस्थाबाट नि:शुल्क बितरण गरिनेछ ।

उक्त औषधिहरु स्वास्थ्यसंस्थाहरु द्वारा संकलित विवरण बमोजिम करिब १५ दिनलाई पुग्ने गरि स्वास्थ्यसंस्थाहरुमा पठाईएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओम पि न्यौपानेले जानकारी दिनुभयो।
नेपाल सरकारले घोषणा गरेको स्वास्थ्यचौकीमा अनिवार्य रुपमा नि:शुल्क रुपमा उपलब्ध गराइनु पर्ने ३९ थरिका नि:शुल्क औषधिहरु मध्यमा यि औषधिहरुलाई समावेश गरिएको छैन । तर यी औषधि नेपाल सरकारले मात्रै आफैले खरिद गरेर पठाउने भएकोले यिनि औषधिहरु अहिले लकडाउनको कारणले स्वास्थ्यसंस्थाहरुमा अभाव रहेको जानकारी उहाँले दिनु भयो ।
नियमित औषधि सेवन गर्ने विरामीहरुलाई लकडाउनको समयमा वजार सम्म पुगेर उक्त औषधि किनेर ल्याउन कठिन भएकोले उक्त औषधि स्वास्थ्यसंस्थाहरु मार्फत वितरण गर्ने गरि तुलसीपुर उप-महानगरपालिकाले वितरणको योजना वनाएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताउनु भयो ।
साथै उहाले अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्यसंस्था मार्फत समन्वय गरि घरदैलोमै औषधि पुर्याइदिने व्यवस्था मिलाईएको पनि जानकारी दिनुभयो ।
तर जटिल खालको मुटु तथा रक्तचाप जन्य र मधुमेहका विरामीले प्रयोग गर्ने औषधि भने फार्मेसी एसोसिएसनको पहलमा परामर्श सेवाका साथै होमडेलीभरीको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । तर यसरी घरैमा औषधि पुर्याउदा औषधि मुल्य भने औषधि खाने व्यक्तिले वुझाऊनु पर्ने ज.स्वा.नि. केसीले बताउनु भयो ।
तथ्यांक संकलनबाट प्राप्त विवरण अनुसार हाल तुलसीपुर उप-महानगरपालिका भित्रमा मुटु तथा रक्तचाप भएका रोगी ११६८ जना र मधुमेह भएका रोगि ५०९ जना रहेको छ ।
साथै जस्वानी केसीले औषधि समवन्धि परामर्श तथा होमडेलीभरीका लागि मो.नं ९८५७८३५०६०, ९८४४९१३९८१ वा पैसा नलाग्ने हट्लाइन नं. १६६०८२५२००० मा सम्पर्क गर्न सकिने बताउनुभयो ।

