
काठमाडौं : काठमाडौं महानगरपालिकाले मजदुर र विपन्न परिवारलाई संख्याका आधारमा राहत उपल्बध गराउ थालेको छ । यसका लागि वडाकार्यलयहरूले घरघरमै पुर्याएर राहत वितरण गरेका छन् ।
बुधबारबाट केही वडाले राहत वितरण कार्य थालिसकेका छन् भने केही वितरणको तयारीमा छन् ।
धेरैवटा वडाकार्यलयले अहिले राहत घरघरमै पुर्याएर बाँढिरहेका छन् । वडा नं ७, ८, १० ले राहत वितरण सुरु गरेका छन् । वडा नं सातका वडाध्यक्ष शुद्धकुमार डंगोलले आफ्नो वडा कार्यलयले राहत वितरण कार्य बुधबारबाटै सु्रु गरेको जानकारी दिए ।
राहत विपन्न र मजदुर परिवारको घरघरमै पुर्याइने गरेको उनले बताए । ‘राहत कार्यक्रम हामीले घरघरमै पुर्याएर बाँढ्दै छौँ,’ उनले भने, ‘हिजोसम्म विवरण संकलन गर्यौँ । अब उनीहरूको विवरण अनुसार घरमा पुगेर वितरण गर्दैछौँ ।’ तर अहिले विवरण भर्ने धेरै भएकाले को बास्तविक राहत पाउनुपर्ने मान्छे हो भन्ने समस्या भएको उनको भनाइ छ । त्यसका लागि घरमा पुगेर अवस्था हेरेर दिने उनले बताए ।
वडा नं ८ मा पनि राहत वितरणको कार्य बुधबारबाटै थालिएको वडाध्यक्ष दिनेशकुमार डंगोलले जनाकारी दिए ।
महानगरले परिवार संख्याका आधारमा विपन्न र मजदुर परिवारलाई राहत बाँढिरहेको छ । राहत प्याकेजमा परिवारमा एकजना मात्र व्यक्ति बस्ने रहेछ भने उसका लागि ४ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र १ किलो तरकारी दिइन्छ ।
परिवारमा दुइदेखि चार जनासम्म सदस्य भएमा १२ किलो चामल, २ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, २ किलो चिउरा र ३ किलो तरकारी दिइन्छ । यदि कुनै परिवारमा ५ जनाभन्दा धेरै रहेछन् भने उनीहरूका लागि १६ किलो चामल, ३ किलो दाल, १ किलो नुन, १ लिटर तेल, ३ किलो चिउरा र ४ किलो तरकारी उपलब्ध गराइन्छ ।
यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्ने महानगरले जनाएको छ ।
राहत वितरण कार्यक्रम अहिलेलाई एक साता गरिने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । ‘यो कार्यक्रम लक डाउन अवधिको लागि ल्याइएको हो,’ उनले भने, ‘लक डाउन अवधि बढ्यो भने हामी अवधी बढाएर पुनः मजदुर वर्गलाई राहत बाँढ्ने छौँ ।अन्नपूर्णपोष्ट.कम बाट

