
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस नियन्त्रणको जिम्मा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । उच्चस्तरीय समन्वय समितिको संयोजक पोखरेल छन् । उनी वर्तमान सरकारमा दोस्रो वरीयताका वरिष्ठ मन्त्री पनि हुन् । तर, ओली सरकारमा उनी मुख्यमन्त्रीका अघि निरीह देखिएका छन् । संघीय सरकारका उपप्रधानमन्त्रीभन्दा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल नै शक्तिशाली देखिनुलाई सत्तारुढ नेकपामा अनौठो मानिएको छैन ।
प्रधानमन्त्री ओलीले निर्णय लिन नसकेको अवस्थामा अन्य मन्त्री हाबी हुने स्थिति आएर उनका निकट नेताहरू कसरी एकाएक प्रकट हुन्छन् भन्ने घटना बिहीबार देखियो । उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समय लम्बिने आंकलनका साथ काठमाडौं उपत्यका छाड्न चाहने नागरिकका लागि शुक्रबार र शनिबार बाटो खोलिदिने औपचारिक निर्णय गरेको थियो । जुन कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजमा उल्लेख पनि थियो । भलै सो पेज बिहीबार साँझ ७ बजे नै डियक्टिभ गरिएको छ ।
सो निर्णय आएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमार्फत कडा आपत्ति जनाए । उनले लकडाउन भनेको लकडाउन नै हो र संघीय सरकारको सो निर्णय खेदजनक रहेको भन्दै कडा शब्दमा विरोध जनाए । पोखरेलको सो विरोधले संघीय सरकारका मन्त्रीहरूबीच हल्लीखल्ली भयो । ओली निकट नेताहरूको एकपछि अर्को विरोधका स्वर सुनिन थालेपछि रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाले मन्त्रालयको तर्फबाटै आधिकारिक खण्डन निकाल्न पुगे शुक्रबार र शनिबार उपत्यकाबाहिर सर्वसाधारणलाई लैजाने निर्णय भएको छैन भनेर ।
यो त प्रतिनिधि घटना मात्रै हो । अहिले पनि संघीय सरकारमा ंशंकर पोखरेल नै हाबी छन् । उनकै सल्लाहअनुसार प्रधानमन्त्री चल्ने गरेका छन् । प्रदेश सरकारका मुख्यमन्त्रीहरू पनि आफू निकट नेता होउन् भन्ने उद्देश्यले नै ओलीले पोखरेललाई प्रदेशमा निर्वाचन लड्न पठाएका थिए । जबकि उनी केन्द्रीयस्तरका नेता हुन् । परिआएमा भोलि पार्टी चलाउन सक्ने हैसियतका नेता हुन् ।
मदन भण्डारीको जिप दुर्घटनापछि तत्कालीन एमालेमा उनको विचारधारालाई शंकर पोखरेलले नै अघि बढाउँदै आएका थिए । प्रधानमन्त्री ओली त निमित्त नायक मात्र भएको पूर्वएमालेहरू बताउँछन् । सोही कारण ओलीले शंकर पोखरेलले जे जे भन्छन्, त्यो एउटा पनि काट्दैनन् । शंकर पोखरेलले आफ्नी श्रीमतीलाई संघीय सांसद बनाएका छन् ।
बिहीबारको घटनाले नेकपामा ओलीको उत्तराधिकारी ईश्वर पोखरेल होइन, शंकर पोखरेल नै हो भन्ने पुष्टि गरेको छ । किनभने ईश्वर पोखरेल ओली क्याम्पमा अहिले धेरै पछि मात्र आएका हुन् । जबकि शंकर पोखरेलले नै ओली क्याम्पको अघोषित नेतृत्व लिँदै आएका छन् । शंकर पोखरेल राष्ट्रपति विद्यादेवी भण्डारीले मन पराउने नेता पनि हुन् ।
साभार:- क्यानाडा नेपाल डट कम

