
–वसन्त अनुभव-
तुलसीपुर, दाङ, २७ चैत
तुलसीपुर उपमहानगरले लकडाउनको समयमा सुत्केरी हुन पुगेका सुत्केरीहरुलाई घरमै गएर स्वास्थ्य जाँच गर्ने कार्यको थालनी गरेको छ । घरभेटमै स्वास्थ्य जाचसंगै सुत्केरीलाई अण्डा र साबुन उपहार दिने कार्यक्रम अगाडी बढाएको छ ।
सुत्केरी भएको अवधिमा महिलाको शरीर कमजोर हुने साथै बच्चाको पोषण समेत आमा नै निर्भर हुने भएकोले आमाले पोषणयुक्त खाना खानुपर्ने हुन्छ । तर लकडाउनका कारण पोषणयुक्त खाना प्राप्त गर्न मुस्किल पर्ने भएकोले उक्त कार्यक्रमलाई तदारुकताका साथ अगाडी बढाइएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनु भयो ।
आमा स्वस्थ भए मात्र शिशु स्वस्थ हुने भन्दै मेयर पाण्डेले मातृशिशु स्वास्थ्य सुधार गर्न र मातृशिशु मृत्युदर कम गर्नका लागि सुत्केरी भत्ता संगसगै यस कार्यक्रमलाई पनि अगाडि ल्याइएको बताउनु भयो । उहाँले यस कार्यक्रमलाई नगरका १९ वटै वडामा संचालन गरिएको समेत जानकारी गराउनु भयो । पोहोर सुत्केरी भत्ता वितरण मार्फत अनिवार्य स्वास्थ्य जाँच कार्यलाई प्राथमिकता दिदा नै मातृशिशु मृत्युदर शुन्यमा पुराउन सफल भएको पनि स्मरण गर्नुभयो ।

घरभेटमा सुत्केरी तथा बच्चाको स्वास्थ्य परिक्षण गरिनुका साथै पोषणका लागि अण्डा र सरसफाइका लागि साबुन वितरण गर्ने कार्य गरिदै आएको जनस्वास्थ्य प्रवर्द्धन शाखाले जनाएको छ ।
लकडाउनको समयमा सुत्केरी भएका वडा नं.७ पर्सेनीका ५ जना, वडा नं. ४ का ७ जना र वडा नं. ११का ३ जना सुत्केरी महिला तथा नवजात शिशुहरुको स्वास्थ्य परिक्षण, पोषणका लागी अण्डा र सरसफाइका लागि साबुन र आवश्यक परामर्श सेवा प्रदान गरिएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल के.सी.ले बताउनुभयो ।
साथै ज.स्वा.नि. केसीले जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजना तथा स्वास्थ्यचौकी र नगर स्वास्थ्यकेन्द्रका नर्सिङ स्टाफहरुको सहयोगमा कार्यक्रम सन्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओम प्रकाश न्यौपानेले नगरका सबै वडामा गरेर करिब १०० जना सुत्केरी रहेको जानकारी दिनुभयो । साथै उहाँले हाल वडा नं ४, ७ र ११ का सुत्केरीको जाँच, परामर्श र उपहार वितरण गरिए पनि अन्य वडामा पनि तत्काल वितरण गरिने बताउनु भयो । यस अवधिमा सुत्केरी भएकाहरु कोही छुटेको भए वडा कार्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभयो।
नगरले सन्चालन गरेको यस कार्यक्रमबाट घरमै स्वास्थ्य जाँच हुनुका साथै एक क्यारेट अण्डा तथा साबुन उपहार स्वरुप पाएकोमा सुत्केरी महिलाहरुले खुसी व्यक्त गरेका छन् ।

