
सरकारी चिकित्सक संघ, नेपाल (GODAN) ले आज एक विज्ञप्ति जारी गर्दै दोषी प्र.जि.अ.लाई जिम्मेवारीबाट हटाएर विभागीय कार्वाहीको माग गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ ‘ मिति २०७६, चैत्र १८ गतेको दिन डोल्पा जिल्ला अस्पतालका चिकित्सकहरू माथि त्यस जिल्लाका प्रमूख जिल्ला अधिकारी सुरेश सुनारबाट गैरकानुनी, अमानवीय र गुण्डागर्दीको शैलीमा भएको दुर्व्यवहार प्रति यस संघको गम्भिर ध्यानकर्षण भएको छ ।’
संघका अध्यक्ष डा.दीपेन्द्र पाण्डे र महासचिव डा. रबिन खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडी भनिएको छ ‘हालको बिषम् परिस्थितिमा दिनरात खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई वैठकमा बोलाउने र सोही बैठकमा छलफलको क्रमममा आफूसंग बिचार बाझेपछि जहानीया राणा शाषणको झल्को दिने गरी प्र.जि.अ.ले अस्पतालका प्रमूख डा. सिजन रावललाई विना कुनै पत्र वा अदालती प्रक्रिया तत्काल नै वलजफ्ती हिरासतमा राखेको, मोबाइल फोन जफत गरी सम्पर्कविहिन बनाएको र विना आधार मेडिकल जाँच गर्न आदेश दिएको जस्तो आधारभूत मानव अधिकार समेतको ख्याल नगरी चालेको कदमको यो संघ घोर भर्त्सना गर्दछ।’
साथै विज्ञप्तिमा ‘त्यती मात्र नभई सोही अस्पतालमा व्यस्त भई केही ढिला पुगेका अन्य दुई चिकित्सकहरूलाई किन ढिलो आएको भन्दै गाली-गलोच र अपमाजनक कार्य गरेको समेत आफैमा प्र.जि.अ.को निच मानसिकताको उपज भएको देखिन्छ र यो संघ सोको विरोध गर्दछ ।’ भनी उल्लेख गरिएको छ ।
‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका बीच चिकित्सकहरूलाई प्रोत्साहित गरी तिनलाई काम गर्ने वातावरण बनाएर महामारीसंग डटेर लड्नुको सट्टा आफ्नो हैसियत र अधिकारको दुरुपयोग गरी पुरै जिल्लाबासीको स्वास्थ्यसंग नै ती प्र.जि.अ.ले खेलवाड गर्न खोजेको यस संघको ठहर छ ।’ भनी विज्ञप्तिमा भनिएको छ ।
चिकित्सकहरु हालको असामान्य परिस्थितिमा आफ्नो कर्तव्यबाट पछि नहट्ने तर प्र.जि.अ.लाई कार्वाहीको माग गर्दै अगाडी भनिएको छ ‘यसरी, हालको असामान्य परिस्थितिलाई मद्येनजर गर्दै चिकित्सकहरू आफ्नो कर्तव्यबाट पछि नहट्ने तर समन्वयकारी क्षमता नभएका डोल्पा जिल्लाका उपरोक्त घृणित कार्यमा संलग्न प्र.जि.अ.लाई तत्काल जिम्मेवारीबाट हटाई, विभागीय कार्वाही गर्न र अर्का समन्वयकारी भुमिका खेली सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विश्वासमा लिएर वौद्धिक तवरले समन्वय गर्न सक्ने अधिकारीलाई सो पदमा सरुवा गर्न यो संघ नेपाल सरकारसंग माग गर्दछ ।’
उपरोक्त मागहरूलाई नजरअन्दाज गरी ठोस पहल नचालिएमा थप संघर्षका कार्यक्रमहरू ल्याउन यो संघ वाध्य हुने भनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


