
–वसन्त अनुभव-
कमिरेचौर,दाङ,३ बैशाख २०७७
दाङ जिल्लाको बंगलाचुली गाउँपालिकामा मंगलबार असीना सहितको वर्षा हुदाँ त्यहाका किसानहरुले लगाएको गहुँ बाली पुर्ण रुपमा नष्ट भएको छ ।
कोरोना भाईरसका कारण मुलुक चिन्ता र भयले अत्तालिएको बेला देखा परेको यस समस्याले बंगलाचुलीका जनताहरुलाई झनै आक्रान्त र दुखित तुल्याएको छ ।
मुलुकमा जारी लकडाउनका कारण उद्योग धन्दा नचल्दा रोजिरोटीमा समस्या परिरहेको बेला प्रकृतीले गरेको प्रहारले घाउमा नुनचुक थप्ने काम गरेको छ ।
बंगलाचुली गाउँपालिका वडा नं.५ को साकिने, कुँडुले, लोहारपानी, मुर्कुटी, मसुरे, फलिदे र कोलहका ३ सय ७० घरधुरी परिवारका किसानहरुले लगाएको गहुँबाली असिना पानीले झारेर सखाप पारेको बंगलाचुली गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष एनुराज खत्रीले जानकारी दिनुभयो ।

साथै उहाँले उक्त असिना पानीबाट किसानहरुले लगाएको करिव १८ सय ५० मुरी उत्पादन हुने गहुँबालीमा क्षेती हुन पुगेको बताउनु भयो ।
लकडाउन बेला आफुहरुलाई कसरी बिहान साझको खानेकुरा जुटाउने भन्ने चिन्ताले पिरोलीरहेको बेला अकस्मात आइपरेको बज्रपातले झनै समस्यालाई जटिल बनाएको पीडित बंगलाचुली बासी कृषकहरुको गुनासो छ ।

