राप्तीमा दादुरा रुबेला विरुद्ध खोप अभियान सुरु, ५ हजार बढि बालबच्चालाई खोप लगाईने

  • ३० फाल्गुन २०७६, शुक्रबार ०२:०९ मा प्रकाशित
  • फागुन २९, मसुरिया / नेपाल अधिराज्यबाट सन् २०२३ सम्ममा पोलियो, दादुरा तथा रुबेला रोग निवारण गर्ने उद्देश्यलाई मुर्तरुप दिन यहि विहिवार देखी राप्ती गाउँपालिका क्षेत्रका बालबालिका लाई पोलियो, दादुरा तथा रुबेला खोप लगाउने अभियान सुरु गरिएको छ ।

    राप्ती गाउँपालिका, स्वास्थ्य शाखाको आयोजनामा आयोजित दादुरा रुबेला विरुद्ध खोप अभियान कार्यक्रमको उद्घाटन गर्दै राप्ती गाउँपालिका, सामाजिक विकास समितिका संयोजक तथा प्रबक्ता विद्याशरण चौधरीले अभियानमा कुनैपनि ५ वर्ष मुनिका बालबालिका खोपबाट बन्चित हुन नहुने गरि सबै सरोकारवाला लाग्नु पर्ने बताउनु भयो । साथै उहाँले राप्ती क्षेत्रका २४ खोप केन्द्रबाट खोप सेवा प्रदान गरिने जानकारी दिनुभयो ।

    प्रबक्ता विद्याशरण चौधरीले वडा नं ३ र ७ का खोप केन्द्रबाट खोप अभियानको सुभारम्भ गर्दै ९ महिना देखी ५ वर्ष मुनीका सबै वालवालिकालाई दादुरा तथा रुबेला खोप लगाउने र जन्मेदेखी ५ वर्ष सम्मको सबै लाई पोलियो थोपा खुवाउनुपर्नेमा जोड दिनुभयो ।

    राप्ती गाउँपालिका क्षेत्रका करिव ५ हजार १ सय बढि ५ वर्ष सम्मका बालबालिकाहरुलाई स्वयंसेविका तथा स्वास्थ्यकर्मीद्धारा प्रत्यक्ष रुपमा निगरानिमा राखी पोलियो, दादुरा तथा रुबेला खोप लगाउने अभियान अघि बढाईरहेको स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताउनु भयो।

    साथै संयोजक नारायण राउतले स्वास्थ्य शाखाले दादुरा रुबेला खोप अभियान तथा नियमित खोप सुदृढिकरण सम्बन्धी खोप कार्यकर्ताहरुलाई अभिमुखिकरण गरेको र स्थानिय रेडियो राप्ती, राप्ती टेलिभिजन, गाउँ अगुवा, टोल सुधार समिति, अघरीया मार्फत घरघरमा खोप अभियानको वारेमा जानकारी, पर्चा, निमन्त्रणा तथा सुचना पुराईएको बताउनु भयो ।

    फागुन २९ गते सुरु भई चैत्र ७ गते सम्म खोप कार्यक्रम सञ्चालन हुने जानकारि दिदै स्वास्थ्य संयोजक नारायण राउतले बालमृत्युदर शुन्य बनाउनका लागि दादुरा र रुबेला खोप लगाउनुपर्ने, दादुरा रुबेला भाइरसको संक्रमण मानिसमा मात्र सर्ने र संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा निस्कने छिटाले एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने यी रोगहरु सामान्यतया वालवालिकालाई लाग्ने हुदा ९ महिना देखी ५ वर्ष मुनीका सबै वालवालिकालाई खोप लगाउनुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो ।

    राप्ती गाउँपालिकाको पोलियो, दादुरा तथा रुबेला खोप लगाउने अभियान कार्यक्रम वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा बसन्तापुर बाट सुरु गरिएको छ ।

    Leave a Reply