काेराेनाको प्रभाव चीनमा समाप्त भएको घोषणा

  • २९ फाल्गुन २०७६, बिहीबार १९:४३ मा प्रकाशित
  • बेइजिङ – कोरोना (कोभिड–१९) को महामारीका कारण बढी प्रभावित बनेको चीनमा सङ्क्रमणको उच्च विन्दु पार गर्दै समाप्त भएको घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले सङ्क्रमणको समस्या प्रकोपका रूपमा घोषणा गरेको केही घण्टापछि चीनको यो भनाई आएको हो ।

    सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जनाएकोे हो । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो ।

    कोभिड–१९ सङ्क्रमणका नयाँ विरामी आउने क्रम घटिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक प्रवक्ता मी फङले बेइजिङमा बिहीबार पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको प्रभाव निकै तल झरेको छ ।”

    मीले भन्नुभयो, “चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अङ्कमा झरेको छ ।” वुहानमा नयाँ सङ्क्रमणको सङ्ख्या बुधबार आठ व्यक्तिमा सिमित भएको उहाँले पुष्टि गर्नुभयो । “हुबेईका अन्य सहरमा पनि सङ्क्रमितको सङ्ख्या एक हप्ता यता यही दरमा रहेकोले चीनले कोभिड–१९ विरूद्धको लडाईंमा विजयको नजिक पुगेको अनुमान गर्न सकिन्छ,” उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “हुबेई बाहिर मुख्यभूमि चीनमा कूल सात नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ तर त्यसमध्ये छ जना विदेशबाट आएका रहेका छन् ।”

    चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय सङ्क्रमण नियन्त्रण अभियानमा निष्क्रियता नआउने अर्थात् नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उहाँको भनाई थियो । विश्व स्वास्थ्य सङ्गठनले बुधबार कोभिड–१९ सङ्क्रमण विश्वमा फैलिने क्रम बढ्दो रहेकोले यसलाई विश्वव्यापी ‘प्रकोप’ भनेपछि चीनको भने यस्तो धारणा आएको छ ।

    बुधबारसम्ममा विश्वभर एक लाख १८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ११४ मुलुकमा फैलिएको यस भाइरस सङ्क्रमणको समस्याका कारण चार हजार २९१ व्यक्तिले आफ्नो जीवन गुमाएका सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले जेनेभामा गरेको पत्रकार सम्मेलनमा बताउनुभयो ।

    आगामी केही दिन (हप्ता) कोरोना सङ्क्रमण, सङ्क्रमणका कारण निधन र प्रभावित मुलुकहरूको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । प्रवक्ता मीले भन्नुभयो, “चीनले हालैका दिनमा विश्वव्यापी सङ्क्रमण विस्तारलाई नजिकबाट नियालेको र सङ्क्रमणको समस्यालाई नियन्त्रण गर्न उनीहरूलाई रोकथाम र नियन्त्रणका लागि प्रोत्साहन गरिरहेको छ ।”
    ताजाखबर

    Leave a Reply