घोराही, २६ फागुन / दाङ जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ हासिपुरको हाँसिपुर स्वास्थ्यचौकीमा आयोजित १ दिने प्रजनन स्वास्थ्य शिविर तथा उपचार सहयोग कार्यक्रम आइतबार सम्पन्न गरिएको छ ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम, कार्यान्वय एकाई दाङले उक्त शिविरको आयोजना गरेको थियो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरिएको उक्त शिविरमा त्यस क्षेत्रका करिव चार सय महिलाहरुले सेवाको लाभ लिएका थिए । शिविरको उद्घाटन प्रदेश नं. ५ की सांसद दामा कुमारी शर्माले गर्नुभएको थियो ।
सांसद शर्माले उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै आफ्नो स्वास्थ्यको ख्याल आफै गर्न र आफुमा भएको कुनै पनि रोग वा समस्या नलुकाई शिविरबाट स्वास्थ्यलाभ गर्न उपस्थित महिलाहरुलाई अनुरोध गर्नुभएको थियो ।
साथै उहाँले गर्भवती र सुत्केरी महिलाहरुले आराम र खानपिनमा बेवास्ता गर्दा विभिन्न स्वास्थ्य समस्या हुने गरेकोले आराम र खानपिनमा विशेष ख्याल राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि महिलाहरुलाई प्रदेश सरकारले उपलब्ध गराएको निशुल्क स्वास्थ्य शिविरको भरपुर उपयोग गर्न आग्रह गरेका थिए ।
बंगलाचुली गाउँपालिकाकी उपाध्यक्ष यमुना घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको उद्घाटन सत्रमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता टिका बस्नेतले विषय वस्तु माथि प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रममा महिला तथा बालबालिका शाखाकी पार्वती रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले गर्नुभएको थियो ।
शिविरमा करिव चार सय बढीले सेवा लिएका थिए । सेवा लिएका मध्य करिव २० जनालाई थप उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिने र त्यहाँ लाग्ने खर्च समेत प्रदेश सरकारले व्यहोर्ने कार्यक्रम रहेको छ ।
प्रजनन स्वाथ्य शिविरमा ३ सय ७२ जनाले स्वाथ्य सेवा लिएका छन् । शिविरमा धेरैजसो पाठेघरको समस्या भएका महिलाहरु रहेका छन् । जसमा १५ जनालाई पाठेघरको अप्रेसन गर्नु पर्ने भएको छ ।
शिबिरमा फस्ट डिग्रिका ३० जना ,सेकेन्ड डिग्रिका रिङ राख्नु पर्ने २५ जना र थर्ड डिग्री १५ जना रहेका छन् । यी सबै महिलाहरुको उमेस ४५ वर्ष देखि ६० वर्ष सम्मका रहेका छन् । धेरै जसो महिलाहरुमा सेतोपानि बग्ने ,तल्लो पेट दुख्ने लगाएतका समस्यहरु रहेको बंगलाचुली गाउँपालिका स्वस्थ शाखा सह–संयोजक ईन्द्रा घर्तिले जानकारी दिनु भयो ।
यसै गरी शिविरमा हाईड्रोसिलका ५ जना विरामीहरु पनि फेला परेका छन् । शिविरमा प्रादेशिक अस्पताल तुलसीपुरका गाईने रोग विशेषज्ञ डा.विनोद सिङ, हाईड्रोसिल विशेषज्ञ डा.बादल कार्की, वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक रमा पराजुलीले विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियो ।