मायादेवीको स्वास्थ्य क्षेत्रको बेरुजुमै सकियो लाखौंलाख रकम ॥

  • २८ फाल्गुन २०७६, बुधबार १९:४० मा प्रकाशित

  • राघबेन्द्र चौबे 

    कपिलबस्तु जिल्लाको मायादेबी गाउँपालिकाले कार्यक्रमगत बजेटको चरम दुरुपयोग गरेको तथ्य बाहिरिएको छ । आर्थिक बर्ष २०७४÷७५ र गत आब २०७५÷७६ का लागी बिनियोजित पोषण तथा स्वास्थ्य क्षेत्रमा चरम लापरवाही भएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा जानकारी समेत गराएका छन् । खल्ती योजना फछ्र्यौटका लागी अब्बल साबित हुदै गएको भन्दै जनप्रतिनिधीहरु समेत रुष्ट बनेका छन् । आर्थिक बर्ष २०७५÷७६ का लागी स्वास्थ्य क्षेत्रका लागी बिनियोजित गरिएको बजेट र योजना कार्यान्वयनमा भारी मात्रामा फितलो भएको पाइएको स्वयम् वडाध्यक्षहरु बताउछन् । पालिका स्तरमा संचालित पोषण, सुत्केरी लगायतका लक्षित बर्गका लागी बिनियोजन गरिएका योजनाको प्रभावकारी कार्यान्वयन र सहि बजेट परिचालन हुन नसकेको उनीहरुको गुनासो छ । 
    गाउँपालिकाले गत आबमा स्वास्थ्य क्षेत्रमा बिनियोजन गरेको करिब ३० बजेट मध्ये १५ लाख बढि बजेट पेश्कीको रुपमा निकाशा गरि लापरवाही गरेको पाइएको छ । भौतिक निर्माणका क्षेत्र, सञ्चार क्षेत्र, युवालक्षित लगायतका क्षेत्रमा समेत मायादेवी गाउपालिकाले चरम लापरवाही गरेको पाइएको हो । जिल्लामा दुइसय पचास देखि तीनसयको हाराहारीमा नटुवा समुदायको बसोबास रहेकोमा कुनैपनि स्थानीय तहले उक्त समुदायको उत्थान र प्रोत्साहनका लागी बजेट बिनियोजन नगरेको पाइएको छ । मायादेबी गाउँपालिका वडा नम्बर २ का नेत्रम नेटुवाले आफ्नो समुदायप्रति राज्य र सरकार दुबैपक्षले वेवास्ता गरेको बताए । आफुहरुले गाउपालिकामा पटक पटक आफ्नो जातीको अवस्था प्रति जानकारी गराउदा समेत जनप्रतिनिधीहरुले कुनै वास्ता नगरेको उनको भनाइ छ । भिक्षा मागेर जीवनयापन गर्दै आएता पनि आजकल आफ्ना सन्ततीले उक्त काम गर्न नमान्ने र पढाईलेखाई प्रति ध्यान दिने गरेको उनी बताउछन् । 
    नेटुवा समुदायले आफुहरु लोपान्मुख समुदायमा पर्ने दाबी गर्दछन् । तर  नेपाल सरकार आदिवासी÷जनजाती उत्थान राष्टिय प्रतिष्ठान ऐन २०५८ ले पनि जनजातीको सुचिमा सुचिकृत गरेको छैन् । सरकारले घोषणा नगरेता पनि आफुहरु लोपोन्मुख समुदायमा पर्ने सोहि गाउपालिकाकै महेन्द्र नेटुवाको ठोकुवा छ । 
    आफुहरु जस्तै पथ्थरकटट जातीले गाउपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने गरेता पनि आफु्हरु संबिधानको मौलिक हकअन्र्तगत सामाजिक न्यायको हकबाट समेत बन्चित भएको उनको भनाइ छ । स्थानीयतहमा सामाजिक सुरक्षा भत्ता बितरणको जिम्मा पाएको स्वास्थ्य शाखाले नै प्रतिफल बिहिन क्षेत्रमा लगानी गरेको भन्दै उनीहरु रुष्ट भएका छन् । स्वास्थ्य शाखा मार्फत बितरण हुने पोषण क्षेत्र, सुत्केरी तथा प्रसुती सेवा लगायतको क्षेत्रमा प्रदान गरिने सेवासुविधा प्रति निकै सुस्तता छाएको भन्दै कतिपय वडाध्यक्षहरुले रुष्टता प्रकट गरेका छन् । मायादेबी गाउपालिका वडा नम्बर ४, पिपराका वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानले स्वास्थ्य क्षेत्रमा ब्यापक अनियमितता भएको बताउछन् । गाउपालिकाबाट हुने अन्य भौतिक निर्माण लगायतका बिकासका क्षेत्रमा समेत भ्रष्टाचार झांगिएको प्रति उनको चिन्ता प्रकट गरेका छन् । “सरकारले शुसासन मार्फत जनताको अधिकारको सहज आपूर्तिका लागी जनप्रतिनिधी चयन गरेता पनि मायादेबी गाउपालिकामा भ्रष्ट र अनियमितताको अखडा निर्माण गर्ने थलो बन्दै गएको छ,” उनले भने । चालु आर्थिक बर्षमा गाउपालिकाबाट आफ्नो वडामा योजना कटौती, बजेट रोक्का गरिनु जनताको जनमतको खिल्ली उडाउने कार्य भएको उनको भनाइ छ । गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष दुबैप्रति कटाक्ष गर्दै उनले भने, “शुसासन एउटा हात्तीको देखाउने दाँत हो” । 
    स्थानीय सरकारले स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रमा लगानी गर्दा बिचार बिमर्श गर्नुपर्ने र त्यस्को प्रत्यक्ष अनुगमन सरकार प्रमुख अर्थात गाउपालिकाका अध्यक्ष बजरंगी प्रसाद चौधरी र उपाध्यक्ष गीता तिवारीले गर्नुपर्ने स्थानीयको माग छ । हरेक क्षेत्रमा भइरहेका अनियमितताको सार्वजिकिकरण हुनुपर्ने स्थानीय बिजय शुक्लाको भनाइ छ । 
    मायादेवी गाउपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले स्वास्थ्य क्षेत्रलाई महत्व नदिई हप्तेतालिम, गोष्ठीमा बजेट सिध्याएको अधिकांश वडाध्यक्षहरुको आरोप छ । संयोजक यादवले आफुले मायादेबीका सबै वडामा सन्तुलित रुपमा सेवा प्रवाहका लागी बजेट बिनियोजन गरिएको धारणा राख्ने गरेका छन् । गत आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा ३० लाख बढि बजेट बिनियोजित भएकोमा आर्थिक बर्षको अन्तमा कार्यसम्पन्न नभई रकम निकासा गरि आर्थिक हिनामिना गरेको कार्यालयमा कार्यरत कर्मचारीको भनाइ छ । लेखापरिक्षण गर्दा समेत पेश्की बेरुजु देखाउने गरेकोले समेत अनियमितता भएकै हो भन्न नसकिने लेखाशाखाका कर्मचारीको भनाइ छ । 
    गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले स्वास्थ्य क्षेत्रमा अपेक्षित रुपमा काम हुन नसकेको सुन्नमा आएको प्रतिक्रिया दिएका छन् । आफुले प्रशासकिय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेदेखि गाउपालिकामा सबै बिषयगत क्षेत्रमा नियन्त्रण र परिणाममुखी कार्य गर्न निर्देशन दिएको बताए । बिषयगत शाखामा स्वास्थ्य अन्र्तगत प्रायः सन्तोषजनक कार्य नभएको भन्दै गुनासा आउने गरेको उनको भनाइ छ । 
    गाउपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले गाउपालिकाभित्रै भौतिक तथा सामाजिक कार्य अनियमितता र कम गुणस्तरको कार्य भएको अनुगमनमा पाएकाले वडा नम्बर ४ मा योजना र बजेट कटौती गरिएको बताए । स्वास्थ्य क्षेत्रमा समेत अव अनुगमन मार्फत कटौती गरिने उनको धारणा छ ।

    Leave a Reply