
काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन जनचेतना, अस्पतालमा आइसोलेसनको तयारी र औषधि अभाव हुन नदिन विशेष काम गरिरहेको जनाएको छ।
सरकारको बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मुख्य तीन उद्देश्यमा काम गरेको बताए।
उनका अनुसार नेपालमा संक्रमण फैलन नदिन स्वास्थ्य मन्त्रालयले भाइरस आउन नदिन र आइहाल्यो भने संक्रमणको रोकथाम र व्यवस्थापन गर्न, अस्पतालमा उपचारसहित अन्य तयारी र औषधिको अभाव हुन नदिने तीन वटा खण्डमा काम गरिरहेको छ।
उनले बाहिरी मुलुकबाट आउने यात्रुको विमानस्थलमा तापक्रम जाँच गर्ने गरेको र शंकास्पद व्यक्तिलाई सिधै शुक्रराज, ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा चिकित्सकको निगरानीमा राख्ने गरेको बताए। अन्य अस्पताललाई पनि आइसोलेसन वार्ड तयारी अवस्थामा राख्न निर्देशन दिएको पनि उनले जानकारी दिए।
उनका अनुसार विमानस्थलमा ज्वरो देखिएका बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था समेत गरिएको छ। चालकदेखि अन्य व्यक्तिलाई सुरक्षाको व्यवस्था गरिएको पनि उनले बताए।
विमानस्थलमा यात्रुको तापक्रम जाँच गर्नका लागि थर्मल स्क्यानर क्यामेरा र गन थर्माेमिटर सहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको प्रवक्ता देवकोटाले बताए।
‘भारतमा कोरानाका बिरामी देखिएकोले नेपाल प्रवेश गर्ने ३७ नाकामा गन थार्मोमिटर र माक्ससहित स्वास्थ्य टोली खटाइएको छ,’ प्रवक्ता देवकोटाले भने।
स्वास्थ्य मन्त्रालयले हालसम्म त्रिभुवन विमानस्थलमा २६ जनालाई कोरोना आशंका गरी जाँच गरिएको र सबैजनामा संक्रमण नरहेको जनाएका छ। टेकु अस्पतालमा पाँच जना व्यक्तिलाई आइसोलेसनमा राखिएको छ।
प्रवक्ता देवकोटाले भने ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार कार्यविधि बनाएका छौँ। जसमा संक्रमण भए गर्ने, कसरी व्यवस्थापन गर्ने, उपचार प्रक्रियालगायतबारे योजना बनाएका छौँ।’
उनले पत्रकारलाई नेपाली औषधि उत्पादकलाई बोलाएर देशमा औषधि उत्पादन बढाउने सम्बन्धि छलफल गरेको र भारतले रोक लगाएका १३ प्रकारका औषधि फुकुवा गर्नेबारे पनि उच्चस्तरिय छलफल भइरहेको जानकारी दिए।
हाल औषधि मौज्जाद रहेकोले तत्काल औषधि अभाव नहुने स्वास्थ्य मन्त्रालयको भनाई छ।
स्वास्थ्यखबर