कोरोनाको आशंका गरिएका नेपाली टेकु अस्पतालबाट ‘फरार’

  • २२ फाल्गुन २०७६, बिहीबार १५:१३ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट फरार भएका छन् ।

    उनी गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका इटहरीका ती नेपालीलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।

    चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको बोगटीले जानकारी दिए ।

    अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी भइरहेपनि फेला पार्न नसकिएको बोगटीले जानकारी दिए ।
    ‘हामीले उनको खोजी गरिरहेका छौं । तर फेला पर्न सकेका छैनौं । सम्पर्कमा पनि आएका छैनन्’ बोगटीले भने।

    अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन । केही पहिले सोही अस्पतालबाट एक साउदी अरबका नागरिक पनि फरार भएका थिए ।
    रातोपाटी

    Leave a Reply