हात्तिपाईले रोग विरुद्व आम औषधि सेवन अभियान शुरु

  • २५ माघ २०७६, शनिबार २३:३५ मा प्रकाशित
  • वसन्त अनुभव-
    तुलसीपुर, २०७६ माघ २५ गते शनिबार
    राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम, आम औषधि सेवन अभियान २०७६ आज माघ २५ गतेदेखि दाङ लगायत विभिन्न १३ जिल्लामा शुरु भएको छ । दाङ जिल्लाको १० वटै स्थानीय तहहरुमा विहानैदेखि औषधि सेवन गरि अभियानको सुरुवात गरिएको छ । दाङमा हात्तीपाईले रोग विरुद्ध औषधि सेवन कार्यक्रम यसपटक समेत गरि दशौ पटक संचालन हुदैछ।

    तुलसीपुर उपमहानगरपालिकामा औषधि सेवन कार्यक्रम
    तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बिहान जनस्वास्थ्य प्रवर्द्धन महाशाखाद्वारा तुलसीपुर बजारको बि.पि. चोकमा आयोजित कार्यक्रममा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरि आम औषधि सेवन अभियान, २०७६ को सुरुवात गर्नुभएको हो ।

    अभियानको सुरुवात गर्दै नगर प्रमुख पाण्डेले हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरिसकेको र सम्पुर्ण नगरबासीहरुले पनि सेवन गर्न अनुरोध गर्नुभयो । साथै उहाँले यस अभियानमा सबै नगरवासीले औषधि सेवन गर्न नछुट्न र नदोहरिन समेत आव्हान गर्नुभयो । सवैले सहयोग गरेमा मात्र राष्ट्रिय हात्तीपाईले रोग निवारण, आम औषधि सेवन अभियानलाई सफल बनाउन सकिने बताउनु भयो ।

    उक्त कार्यक्रममा जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका प्रमुख ओम पि. न्यौपानेले अभियान अवधीभर करिब १५०,००० जनाभन्दा बढी मानिसलाई हात्तिपाईले रोग विरुद्ध औषधि खुवाइने बताउनुभयो । साथै शाखाका जनस्वास्थ्य निरिक्षक विमल के.सी. का अनुसार आज पहिलो दिन बुथमा खुवाइने र भोलि आईतबारबाट घरैदैलो कार्यक्रम मार्फत औषधि खुवाइने कार्यक्रम छ।

    घोराही उपमहानगरपालिकामा औषधि सेवन कार्यक्रम
    घोराही उपमहानगरपालिकाकि कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेले पनि घोराही उपमहानगरपालिका, स्वास्थ्य महाशाखाको आयोजनामा घोराही उपमहानगर परिसरमा आयोजीत कार्यक्रममा औषधि सेवन गरि अभियानको सुरुवात गर्नुभएको थियो । औषधि सेवन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै का.वा.प्रमुख न्यौपानेले सबै नगरवासीलाई निर्धक्कका साथ स्वास्थ्यकर्मीको सुझाव र निगरानिमा औषधि सेवन गर्न आग्रह गर्नुभयो । साथै यस अभियानमा कोहि पनि नछुट्न आग्रह गर्नुभयो ।

    उक्त अभियान सुरुवात कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गन्ज बहादुर एम.सी., वडा न. १५ का अध्यक्ष रमेश कुमार पाण्डे लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै सोही अवसरमा उहाँहरुले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरि अभियानलाई सफल बनाउन सम्पुर्ण आम नागरिकहरुलाई अनुरोध समेत गर्नु भएको थियो ।

    Leave a Reply