–वसन्त अनुभव-
घोराही, २१ माघ
घोराही उपमहानगरपालिकाले फोहोरको उचित ब्यवस्थापनका लागि घोराही १५ को भानु टोलविकास संस्थालाई फोहोर राख्ने भाडो हस्तान्तरण गरेको छ ।
घोराही उपमहानगरपालिका, बाताबरण तथा बिपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नरुलाल चौधरीले भानु टोल बिकास संस्थाका अध्यक्ष रेवा डाँगीलाई डस्टविन हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डेको उपस्थिति रहेको थियो ।
नगरको तीनसय पचास रुपैयाँ र घरधनीको दुई सय रुपैयाँ गरि पाँच सय पचासका दरले उक्त फोहोर फाल्ने भाडो खरिद गरिएको सरसफाइ व्यवस्थापन शाखा प्रमुख प्रेम के.सी.ले जानकारी दिनुभयो । फ़ोहोर राख्ने भाडोहरु टोल विकास संस्थामा आवद्ध घरधुरीलाई उपलब्ध गराइएको थियो ।
घोराही बजारलाई पूर्ण सरसफाई युक्त बनाउने उद्देश्यले डस्टविन बितरण गरिएको नगर प्रमुख चौधरीले भन्नुभयो । साथै उहाँले शहरलाई सफा, स्वच्छ र हराभरा बनाउने दायित्व सबै नगरवासीको भएको र अब देखि कुनै पनि फ़ोहोरहरु सडकमा फाल्न नहुने बताउनु भयो । साथै उहाँले फोहोर गर्ने आनिबानीमा सुधार ल्याउन समेत सबैलाई अपील गर्नुभयो ।