शरीरबाट खराब गन्ध आएको भन्दै विमानबाट निकालिए अमेरिकाका एक जोडी

  • २१ माघ २०७६, मंगलवार १८:१८ मा प्रकाशित
  • अमेरिकाको मिशिगनमा बस्ने एक जोडीले अमेरिकन एयरलाइन्सविरुद्ध विभेदको आरोप लगाउँदै मुद्दा दायर गरेको छ । 

    एयरलाइन्सको एक कर्मचारीले आफूहरूलाई शरीरबाट खराब गन्ध आएको भन्दै विमानबाट निकालेको र अर्थोडक्स यहुदीहरूले हप्ताको एकपटक मात्र नुहाउने गरेको आफूलाई थाहा भएको बताएको मुद्दामा उल्लेख गरिएको छ । 

    येहुदा योसेफ एड्लर र जेनी एड्लरले आफूहरूको जिउ गन्धे नभएको निवेदनमा लेखेका छन् । आफूहरूको धर्मका कारण एयरलाइनले विभेद गरेको र बेइज्जत गरेको उनीहरूको आरोप छ । पोहोर साल भएको घटनापछि आफूलाई अप्ठ्यारो र बेइज्जतीको सामना गर्नुपरेको बताए । 

    सन् २०१९ को जनवरी महिनामा एड्लर जोडी आफ्नी १९ महिने छोरीका साथ मायामीबाट डेट्रोइट जान अमेरिकी एयरलाइन्सको विमानमा चढेका थिए । उनीहरू सीटमा बसेको पाँच मिनेटमा एक कर्मचारी आए अनि उनीहरूलाई विमानबाट ओर्लन भने । 

    विमानबाट ओर्लिएपछि कर्मचारीले उनीहरूको शरीरको खराब गन्धका कारण पाइलटले उनीहरूलाई विमानबाट निकाल्न भनेको बताए । आफूहरूलाई यसअघि कहिले पनि उडानका बेलामा शरीरको गन्धको गुनासो नआएको र आफूहरूले त्यही बिहान नुहाएकोले विमानबाट निकालिँदा स्तब्ध भएको बताए । 

    आफूहरूले विमानस्थलमा रहेका २० जनालाई जिउबाट गन्भ आइरहेको छ कि छैन भनी सोध्दा सबैले छैन भनेको उनीहरूले निवेदनमा लेखे । 

    उता अमेरिकन एयरलाइन्सले चाहिँ धेरै यात्रु र विमान कर्मचारीले गुनासो गरेपछि एड्लर दम्पतीलाई विमानबाट निकालिएको जनायो । उनीहरूको धर्मका आधारमा यो निर्णय नलिइएको उसले जिकिर गर्‍यो । 

    तर आफूहरूले अर्थोडक्स यहुदीहरूले लगाउने वस्त्र लगाएकाले आफूहरूलाई जानाजान तारो बनाइएको एड्लर दम्पतीको आरोप छ ।लोकान्तर.कममा छापेको छ।

    Leave a Reply