रोल्पा । प्राकृतिक स्रोत व्यवस्थापन कलेज, माडीचौरको औपचारिक उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले सोमबार आफ्नो गृहनगरमा स्थापना भएको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भव्य समारोहबीच उद्घाटन गरेका हुन् ।
कृषि तथा वन विश्वविद्यालय, चितवनबाट सम्बन्धन प्राप्त कलेजमा फागुन १४ देखि नियमित पठन पाठन हुनेछ । ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज, माडीचौर (कृषि क्याम्पस)को आज औपचारिक रुपमा उद्घाटन भएको छ,’ कलेजको व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापा घर्तीले भने, ‘आउँदो फागुन १४ देखि नियमित क्लास सुरु हुनेछ ।’
कलेजको उद्घाटन गर्दै नेकपाको स्थायी समिति सदस्यसमेत रहेका ऊर्जामन्त्री पुनले प्राकृतिक स्रोत व्यवस्थापन कलेजको स्थापनाले रोल्पाको शैक्षिकस्तरलाई माथि उठाउनुका साथै देशका लागि आवश्यक प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने बताए । उनले कलेज स्थापनाका लागि रोल्पाका नेताहरुले धेरै मेहनत गरेको स्मरण गरे ।
ऊर्जामन्त्री पुनले रोल्पाका स्थानीयबाट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले र विद्यार्थीहरुबाट स्थानीयले धेरै कुरा सिक्न सक्ने र सिक्नुपर्ने बताए । ‘यहाँ देशैभरीबाट छानिएर विद्यार्थी साथीहरु आउनुहुन्छ, उहाँहरुले नियमित पाठ्यक्रममा आधारित शिक्षासँगै यहाँको स्थानीयपनको बारेमा सिक्नुहुनेछ,’ उनले भने, ‘यहाँ आउनुहुने विद्यार्थी साथीहरु भोलीको देशको अधिकृत तथा दक्ष प्राविधिज्ञ हुनेभएकोले उहाँहरुबाट यहाँका स्थानीयले पनि धेरै कुरा सिक्नुपर्दछ ।’
ऊर्जामन्त्री पुनले कलेजका कर्मचारी र विद्यार्थीहरुलाई स्थानीयस्तरबाट गर्नुपर्ने सहयोगमा कुनै कमी हुन नदिनसमेत आग्रह गरे । उनले कलेज स्थापनाका लागि आफूले पनि जग्गा निःशुल्क सहयोग गरेको स्मरण गर्दै सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य दिपेन्द्र पुनले रोल्पामा प्राकृतिक स्रोत व्यवस्थापन कलेज स्थापना हुनु शैक्षिक क्रान्ति भएको बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीन जयप्रसाद दत्तले कलेजले गुणस्तरीय शिक्षा दिने अपेक्षा गरे । कलेजका प्रिन्सीपल सुमन ढकालले गुणस्तरीय र व्यवहारिक शिक्षा कलेजको प्राथमिकता भएको बताए ।
कलेजको जग्गा सय रोपनी, ऊर्जामन्त्री पुनले दिए १० रोपनी
सदरमुकाम लिबाङदेखि नौ किलोमिटर नजिक रहेको माडीचौरमा स्थापित कलेज सय रोपनी क्षेत्रफलमा फैलिएको छ । साविकको जंकोट गाविसको माडीचौरतर्फ ९० रोपनी र कोटगाउँ गाविसको माडीचौरतर्फ १० रोपनी जग्गा कलेजले चर्चिएको व्यवस्थापन समितिका अध्यक्ष घर्तीले जानकारी दिए । कलेज भवन भने साविकको कोटगाउँ गाविसको माडीचौरमा छ । अहिले दुवै माडीचौर रोल्पा नगरपालिकाको वडा नं. ७ मा पर्छन् ।
कलेज स्थापनाका लागि ऊर्जामन्त्री पुनले १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । उनले केहीं वर्षअघि चार दाजुभाई र तीन दिदी–बहिनीबीच पैतृक सम्पत्ति अंशवण्डा गर्दा आफ्नो भागमा परेको साविकको जंकोट माडीचौरमा रहेको १० रोपनी जग्गा कलेजलाई निशुल्क दिएका हुन् ।
‘ऊर्जामन्त्री अनन्तज्यूले कलेजलाई १० रोपनी जग्गा निःशुल्क दिनुभएको छ । लिलबहादुर बुढा लगायतले पनि दिनुभएको छ,’ कलेज व्यवस्थापन समितिका अध्यक्ष घर्तीले भने, ‘अन्य केहीं स्थानीयले पनि निशुल्क जग्गा दान गर्ने प्रक्रिया अगाडि बढेको छ । कतिपयले अत्यन्त न्यूनतम मूल्यमा जग्गा दिनुभएको छ ।’
बिएस्सीएजीमा ५६ जनाको कोटा, दुईजना कोटा रोल्पालाई
प्राकृतिक स्रोत व्यवस्थापन कलेज, माडीचौरमा ५६ जना विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । चार वर्षे कोर्सका लागि पहिलो वर्षको लागि भर्ना प्रक्रिया पूरा भइसकेको कलेजले जनाएको छ ।
कलेजले ५६ जनाको कोटामध्ये दुई जना रोल्पा जिल्लाका लागि मात्रै उपलब्ध गराएको छ । ‘एक शैक्षिक सत्रमा ५६ जना विद्यार्थी भर्ना हुनेछन्, त्यसमध्ये दुई जना रोल्पाका अनिवार्य हुनेछन्,’ व्यवस्थापन समितिका अध्यक्ष घर्तीले भने । उनले पहिलो शैक्षिक सत्रका लागि भने रोल्पाबाट एकजनामात्रै विद्यार्थी भएको बताए । उनले रोल्पाका अन्य विद्यार्थीले आवेदन नदिएकाले एकजना मात्रै भएको बताउँदै आगामी वर्षदेखि कोटा पूरा हुने विश्वास व्यक्त गरे ।
ऊर्जामन्त्री पुनले सोमबार नै जिल्लाको हार्जङमा आयोजित माघे मेला तथा खेलकुद महोत्सवको उद्घाटन गरेका छन् । हार्जङ युवा क्लवद्वारा आयोजित महोत्सवलाई संबोधन गर्दै मन्त्री पुनले रोल्पाको विकास आफ्नो प्राथमिकतामा रहेको बताए ।
उनले सोमबार विहान बाग्लुङको ढोरपाटन उपत्यकामा निर्माण हुने ७२१ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनास्थलको निरिक्षण गरेका थिए ।
प्रदेशसभा सदस्य पुनले दिए दुईतले घरसहित दुई रोपनी जग्गा
प्रदेशसभा सदस्य दिपेन्द्र पुन ‘सिजल’ले माडीचौरमा दुई रोपनी जग्गामा रहेको दुई तले पक्की घर जिल्ला समन्वय समितिलाई निशुल्क रुपमा प्रदान गरेका छन् । उनले सोमबार नै उक्त जग्गा र घर जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरेका हुन्
उक्त भवनमा समेत प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालन हुनेछ । पुनले आफ्ना दिवंगत बुवा सर्वजित पुन र आमा सहनशीला पुनको स्मृतिमा घर र जग्गा हस्तान्तरण गरेका हुन् । उनले पर्यटन मन्त्रालयको सूचना केन्द्र हुने गरी यसअघि नै हस्तान्तरण गरिसकेका थिए । सोमबार औपचारिक रुपमा जिल्ला समन्वय समितिको मातहतमा हुने गरी हस्तान्तरण गरेका हुन् ।
नागरिक खवर