मुस्लिम सांसदले उठाए हिन्दूधर्म संरक्षणको कुरा, सबैले गरे प्रशंसा

  • ६ फाल्गुन २०७६, मंगलवार १५:१३ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य अतहर कमाल मुसलमानले हिन्दूधर्ममाथि संसदभित्र विभिन्न टिकाटिप्पणी भएको भन्दै चिन्ता जनाएका छन् ।

    संसदको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद मुसलमानले धर्म सम्प्रदायका विषयमा टिकाटिप्पणी गर्दा सदनको गरिमा ओझेलमा पर्ने बताए ।

    ‘हामी जनप्रतिनिधिले यो सम्मानित सदनभित्र विभिन्न धर्महरूका व्यक्तिहरूको मत प्राप्त गरेर आएका छौँ’, उनले भने, ‘ती धर्महरूका बारेमा टिकाटिप्पणी गर्दा यो सदनको गरिमा कहिँ न कहिँ ओझेलमा परिरहेको छ ।’

    ‘हामी विभिन्न धर्मालम्बीहरूले कुनै पनि धर्म सम्प्रदायका विषयमा सदनभित्र अनावश्यक विवाद बहसहरू नगरौँ’, सांसद मुसलमानले भने, ‘हिन्दूधर्मको बाहुल्यता भएको यो देशमा श्री स्वस्थानी माताका गाथाहरूको किताब च्यात्ने विषयहरू उठ्छ ।’

    ‘यदि ऋषि पञ्चमीको महत्वपूर्ण बर्तको बारेमा विवाद खडा हुन्छ भने अर्को धर्मालम्बीहरूले त्यसका बारेमा कुरा उठाउनु जायज हुन्छ’, उनले भने, ‘हिन्दूलाई परेको पीडामा मुस्लिम आउनुपर्छ र मुस्लिमलाई परेको पीडामा हिन्दूहरू अगाडि आउनुपर्छ । यही नै हाम्रो धर्म र संस्कृति हो । राष्ट्रको समृद्धि हो ।’

    केही दिन अगाडि संसदमा शून्य समयमा बोल्ने क्रममा माओवादी पृष्ठभूमि भएकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद यशोदा सुबेदी गुरुङ श्री स्वस्थानीको पानाहरू च्यात्नुपर्ने बताएकी थिइन् । उनको त्यो अभिव्यक्तिको सबैतिर आलोचना भएको थियो ।
    रिपब्लिका दैनिक

    Leave a Reply