वसन्त अनुभव
जनकपुर, २०७६ फागुन ९ गते / हिन्दुहरुको पावन पर्व महाशिवरात्रीको अवसरमा प्रदेश नं. २ का माननीय मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले भगवान शिवको पुजाआजा गर्नुभएको छ ।
व्रह्मकुमारी राजयोग सेवा केन्द्र, जनकपुरको आयोजनामा जनकपुरमा आयोजित कार्यक्रममा मुस्लिम धर्म समुदायका राउतले पुजापाठ गर्नुभएको हो ।
पुजापाठपछि प्रमुख अतिथि मुख्यमन्त्री राउतले जनकपुर धार्मिक दृष्टिले महत्वपूर्ण रहेको र सोही कुरालाई दृष्टिगत गर्दै खुला मदिरा मुक्त शहर घोषणा गर्ने प्रदेश सरकारको तयारी रहेको बताउनुभयो ।
प्रहरी हस्तारण भए लगतै खुल्ला मदिरा मुक्त अभियान जनकपुरधामबाट शुरु गरि क्रमशः प्रदेश भरि लागु गर्दै जाने समेत जानकारी दिनुभयो।
सेवा केन्द्रकी संचालिका सृजना देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले शान्ति विना विकास सम्भव नहुने भएकाले हरेक व्यक्तिलाई आफ्नै मनभित्रबाट शान्ति खोज्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह लगायतका वक्ताहरुले आ-आफ्ना मन्तब्य राख्नुभएको थियो। ब्रम्हकुमारी राजयोग सेवा केन्द्र जनकपुरले जनकपुर नगर क्षेत्रमा शान्ति यात्रा समेत निकालेको थियो।