कास्की । राप्रपा निकट पत्रकार संगठन मिडियो नेपालले पत्रकारलाई निवृत्तिभरण (पेन्सन)को सुविधा व्यवस्था गर्न माग गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा आइतबार पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले श्रमजीवि पत्रकारहरुको लगनशीलतालाई कदर गर्दै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
निरन्तर २५ वर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकाहरुलाई पेन्सनको व्यवस्था गर्न माग गरेको मिडिया नेपालले मंहगी बढिरहेको वर्तमान अवस्थामा श्रमजीवि पत्रकारहरुको लागि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकलाई व्यवहारमा तत्काल लागु गरि समयमा उपलब्ध गराउन सञ्चार गृहहरुलाई आग्रह गर्ने निर्णय गरेको मिडिया नेपालका अध्यक्ष पौड्यालले जानकारी दिए ।
उनकाअनुसार बैठकले प्रदेश नं ५ को तर्फबाट उपाध्यक्षमा श्रीधर सुबेदी, कर्णाली प्रदेशको तर्फबाट उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा राधिका जोशी, काठमाडौं उपत्यका संयोजकमा दिपेश राजथारु तथा केन्द्रीय सदस्यहरुमा रञ्जीत प्रसाई (झापा), विजय राउत (सुनसरी), सविता पोखरेल (गोरखा) लाई मनोनयन गरेको छ ।
साथै मिडिया नेपालको स्थापना दिवस आगामी चैत महिनामा प्रदेश नं ५ को नेपालगञ्जमा मनाउने तथा सो अवसरमै ५ नं प्रदेश समिति गठन एवं घोषणा सभा गर्ने र सो को लागि आवश्यक तयारी गर्न उपाध्यक्ष श्रीधर सुबेदीलाई, कर्णाली प्रदेश समिति गठन तथा घोषणा सभाको तयारी गर्न उपाध्यक्ष अंगत देवकोटालाई जिम्मेवारी दिने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
गण्डकी प्रदेशको प्रदेश कार्यसमिति २०७६ फागुन ५ गते गठन गर्ने र गठन हुन बाँकी रहेका प्रदेशमा यथासक्य चाँडो प्रदेश कार्यसमिति गठन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बैठकले गरेको छ ।क्यानडानेपालडेस्क बाट