काठमाडौं,फागुन १३ गते / पूर्वसभामुख कृष्णबहादुर महराले मंगलबार दाङका कम्युनिष्ट पार्टीका संस्थापक र आफूलाई कम्युनिष्ट पार्टीको सदस्यता दिने पुराना नेताहरुलाई भेटेर आशीर्वाद र प्रेरणा लिनुभएको छ ।
अदालतबाट आफूमाथि लागेको आरोपबाट पूर्ण सफाई पाएपछि महरा हिजो सोमवार आफ्नो निर्वाचन क्षेत्र दाङ पुग्नुभएको हो । पूर्वसभामुख महराले बिहानै उठेर घोराही उपमहानगरपालिकाकै रझेना पुग्नुभएको थियो ।
आफूलाई २०३७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्रदान गर्नुहुने रझेना निवासी बासुदेव गौतमलाई भेट्न महरा त्यहाँ पुग्नुभएको थियो ।
पुराना वामपन्थी नेता गौतमले षडयन्त्रमा फसाइएको बताउँदै पुनः नयाँ शक्ति र संकल्पका साथ राजनीतिमा सक्रिय रहन उत्प्रेरणा दिनुभएको थियो ।
आफूलाई सदस्यता दिने नेता गौतमपछि सभामुख महराले रोल्पाबाट दाङ बसाई सरेकी मगर समुदायकी पुराना नेतृ पूर्णाकुमारी पुनलाई भेटेका थिए । उनले हिजोदेखि अहिलेसम्म महराको राजनीतिक भविष्यका लागि आफूले सक्दो सहयोग गर्दै आएको स्मरण गर्दै भविष्यमा पनि उत्तिकै सहयोग गरिरहने बताउनु भएको थियो ।
पुनले नयाँ उर्जा, नयाँ संकल्पका साथ राजनीतिमा सक्रिय रहेर देश र दाङवासीको सेवामा आफूलाई समर्पित गर्न महरालाई आशीर्वाद दिएकी थिइन् ।
लगत्तै, पूर्वसभामुख कृष्णबहादुर महराले दाङको कम्युनिष्ट पार्टीका संस्थापक, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ दाङ लगायत अनेकौं संघसंस्थाका संस्थापक ८९ वर्षीय नारायणप्रसाद शर्मालाई भेट्नु भएको थियो ।
त्यस अवसरमा शर्माले दुईतिहाईको सरकारले जति काम गर्नुपथ्र्यो त्यसअनुसार नगरेको गुनासो पोख्दै त्यसलाई चिर्न र परिवर्तनका कामहरु गर्न महरालाई आग्रह गर्नुभएको थियो । उहाँले पनि महरालाई नयाँ ढङ्गले नयाँ शिराबाट राजनीतिक यात्रालाई अगाडि बढाउन उत्प्रेरित गर्नुभएको थियो ।
यसै सिलसिलामा पूर्वसभामुख महराले दाङको कम्युनिष्ट पार्टीका अर्का संस्थापक नेता माणिकलाल गौतमलाई भेट्नुभएको थियो ।
संस्थापक नेता गौतमले नेपाली कम्युनिष्ट आन्दोलनलाई पूँजीवादले गाँजिसकेकोमा असन्तुष्टि व्यक्त गर्दै आफूले कम्युनिष्ट पार्टी संस्थापना गर्दा देखेका सपना, गरेका संकल्पहरुलाई पूरा गर्ने दिशामा अगाडि बढ्न र सच्चा कम्युनिष्ट चरित्र र नैतिकता प्रदर्शन गर्न प्रेरित गर्नुभएको थियो।
पूर्वसभामुख महराले दाङका अर्का पुराना वामपन्थी नेता शोभाराम बस्नेतलाई भेटेका थिए । दाङको कम्युनिष्ट पार्टीको नेतृत्वसमेत गरिसकेका बस्नेतले पार्टी नै आन्तरिकरुपमा गुट र उपगुटको शिकार भएर लथालिङ्ग अवस्थामा पुगेको बताउनु भएको थियो । आन्तरिक लडाइँको शिकार महरा भएको बताउँदै बस्नेतले त्यसलाई चिर्दै अगाडि बढ्न महरालाई आग्रह गर्नुभएको थियो ।
यसबाहेक पूर्वसभामुख महरा कतै विवाह भोजमा सहभागी भए भने कतै श्रद्धाञ्जली सभामा । त्यस्तै, उनले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर मतदाता, शुभेच्छुक, समर्थक र आमजनताको पुगेर आफूलाई षडयन्त्रको भुमरीमा हालिएको र त्यसबाट उम्किन सफल भएको बताउनु भएको थियो ।
महराले दाङवासीले दिएको अथाह माया, सद्भाव र उत्प्रेरणाको ऋण यहाँको विकास र समृद्धिको लागि काम गरेर तिर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
दैनिक अनलाइन