
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आफ्नो पूर्व अनुमान अनुसार नै फैसला आएको प्रतिक्रिया दिएका छन् ।
जबरजस्ती करणी प्रयासको मुद्दामा महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि डा. भट्टराईले आफ्नो ट्विटर ह्यान्डलमा महराको मुद्दा कानूनी नभएर नैतिक भएकाले बताए ।
उनले खेका छन्, ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ । शायद सत्य त्यही हो । मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ ।’
यद्यपि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क हुनुपर्ने भन्दै अब राष्ट्रिय मुद्दामा केन्द्रित हुन आग्रह गरे ।
महराका पूवसहकर्मी समेत रहेका भट्टराईले अगाडि भने, ‘तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ । जे हुनु भैगयो । अब बृहद सामाजिक र राष्ट्रिय मुद्दामा केन्द्रित होऔं ।’ केही समय अघि भट्टराई महरालाई भेट्न दिल्लीबजार कारागारसमेत पुगेका थिए ।
महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो । सोही आरोपमा महरा १९ असोजमा पक्राउ परेका थिए । उनी १०३ दिनको कारागार बासपछि आज रिहा भएका थिए ।रातोपाटी.कम बाट