मस्जिद क्षेत्र संरक्षण गर्न मुस्लिम आयोगको ध्यानाकर्षण

  • २६ माघ २०७६, आईतवार २१:३३ मा प्रकाशित
  • काठमाडौँ — नेपाल मदनी मस्जिद व मुस्लिम मोसाफिरखाना संस्थाले काठमाडौं महानगरपालिका–२२, सुन्धारा पश्चिममा रहेको आफ्नो मस्जिदसहितको धार्मिक क्षेत्रलाई संरक्षण गरिदिन मुस्लिम आयोगसँग माग गरेको छ ।

    उक्त स्थानमा ६ आना १ पैसा क्षेत्रफलको सरकारी जग्गा एक सय वर्षभन्दा बढी समयदेखि मुस्लिम समुदायले भोगचलन गर्दै आएका छन् । उक्त जग्गा पछिल्लो दशकमा भूमाफियाले व्यक्तिगत दर्ता गरेर मुस्लिम समुदायलाई बलजफ्ती हटाउन लागेको भन्दै ती संस्थाले आयोगको ध्यानाकर्षण गराएका हुन् ।
    मस्जिदका अध्यक्ष राज महमद अन्सारी नेतृत्वको टोलीले आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई आइतबार ध्यानाकर्षणपत्र बुझाएको छ । ‘हाम्रो पुर्खादेखि अहिलेसम्म एक सय वर्षभन्दा अगाडिदेखि भोगचलन गर्दै आइरहेका छौं,’ ध्यानाकर्षण पत्रमा छ,‘हामीले धार्मिक स्थलका रूपमा भोगचलन एवं नमाज, इद, बकरइदजस्ता धार्मिक पर्व र पूजापाठ गर्दै आइरहेको अवस्था छ ।’
    सरकारको नाममा रहेको जग्गा उपयोग गर्न २००० साल चैतमा ‘खड्ग निशाना’ प्राप्त गरेको र खसी, राँगाको व्यापार गर्ने मुसलमानहरूलाई सधैं बस्न दिन २००१ वैशाख २७ मा पोता रजिस्ट्रेसन अड्डाको नाममा सनद जारी भएको’ ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
    ‘केही वर्षदेखि यो जग्गा भूमाफियाले कब्जा जमाएका छन्,’ मस्जिदका अध्यक्ष राज महमदले भने, ‘श्री ३ जुद्धशमशेरको पालामा हामीले पाएका हौं । हाल आएर मस्जिद भत्काउन विभिन्न व्यक्ति सक्रिय रूपमा लागेका छन् । मस्जिदमा हमला गर्छौं भन्दै छन् । त्यसैले कुनै मुद्दा मामिला होइन, मस्जिदकै रूपमा कायम गरियोस् ।’
    आयोगका अध्यक्ष अन्सारीले सुन्धाराको मस्जिद क्षेत्रको जग्गा समस्याबारे काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसित कुराकानी गरेको बताए । ‘मेयर शाक्यसमेतलाई बाइपास गरेर भूमाफियाले गलत तरिकाले मस्जिदको जग्गा हडप्न खोजेका रहेछन्,’उनले भने,‘यो कुनै व्यक्तिको घर होइन । इस्लामको आस्था अल्लाहको घर हो । उहाँ (मेयर शाक्य) ले इस्लामको आस्थामा ठेस पुर्‍याउँदिन भन्नुभएको छ ।’
    आयोगले मस्जिदसहितको धार्मिक स्थलको संरक्षण गर्न पहल गर्ने आश्वासन अध्यक्ष अन्सारीले दिएका छन् ।इकान्तिपुर. कम

    Leave a Reply