काठमाडौ, २०७६ फागुन ७ / लोकसेवा आयोगद्वारा गठित सचिव बढुवा सिफारिस समितिको हिजो मंगबार बसेको बैठकले नेपाल सरकारको रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सह-सचिवहरुको नाम सिफारिस गरेको छ ।
सिफारिस हुने वरिष्ठ सह-सचिवहरुमा टेकनारायण पाण्डे, एकनारायण अर्याल र रामशरण पुडासैनी रहनु भएको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले उक्त नामहरु सिफारिस गरेको थियो । सिफारिस गरिएका नामहरु मध्ये टेकनारायण पाण्डेको नाम पहिलो नम्बरमा रहेकोले अब बस्ने मन्त्रीपरिषद बैठकले पाण्डेलाई सचिवमा बढुवा गर्ने निश्चित भएको छ ।
सिफारिस भएकाहरु मध्ये पाण्डे प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, बुटवलमा कार्यरत छन् भने एकनारायण अर्याल कलकत्तास्थित नेपाली महावाणिज्य दुतको रुपमा कार्यरत छन् । त्यस्तै रामशरण पुडासैनी अर्थ मन्त्रलायमा कार्यरत छन् । नेपाल सरकारको प्रशासन सेवामा तीन सचिव पद रिक्त भएपनि एक सचिव पदका लागीमात्र सिफारिस गरिएको छ । बाकी दुई सचिवका लागि पनि छिट्टै सिफारिस गरिने समितिले जनाएको छ ।