प्रधानमन्त्री ओली फेरि सञ्चारमाध्यम र बुद्धिजीवीहरुविरुद्ध खनिए

  • ५ फाल्गुन २०७६, सोमबार १६:४१ मा प्रकाशित
  • काठमाडौं, फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओली फेरि सञ्चारमाध्यम र बुद्धिजीवीहरुविरुद्ध खनिएका छन् ।

    सञ्चारमाध्यमले बाँसुरी बजाएको फोटो छाप्ने, विस्थापित भएका तुइन खोजी–खोजी देखाउने गरेको र बुद्धिजीवीहरु सरकारले गरेको विकास देखेर हुटहुटी गर्न तम्सिएको उनलाई पटक्कै चित्त बुझेको छैन ।

    सञ्चारमाध्यम र बुद्धिजीवीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएको यो पहिलोपटक होइन ।

    विगतमा अन्य कारणले सञ्चारमाध्यम र बुद्धिजीवीहरुलाई तारो बनाउने गरेका प्रधानमन्त्रीले यसपटक विकासका समाचार छाप्न छाडेर आफूले बाँसुरी बजाएको समाचार र फोटो छापेकोमा चित्त दुखाए ।

    उनले सञ्चारमाध्यमहरुप्रति दया जागेको भन्दै ‘बाँसुरी बजाएको पनि कुनै समाचार हो ?’ भनेर प्रश्न गरे ।

    देशका सबै भू–भागमा रहेका तुइन विस्थापित गर्ने ओलीको पहिलो कार्यकालकै प्रतिबद्धता हो । कतिपय तुइन विस्थापित नभएको समाचारहरु आइरहेका छन् ।

    तर, प्रधानमन्त्रीले सबै तुइन विस्थापित गरिसकेको दाबी गर्दै सरकारलाई बदनाम गर्न सञ्चारमाध्यमका क्यामेराम्यानहरुले दार्चुलासम्म पुगेर तुइनको फोटो खिचेर ल्याएको आरोप लगाए ।

    दुईओटा तुइन विस्थापित गर्न बाँकी रहेको उनको स्वीकारोक्ति थियो ।

    सञ्चारमाध्यमहरुविरुद्धको आक्रोश प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरुतिर पनि सोझ्याए । विकास सहन नसकेको भन्दै उनले बुद्धिजीवीहरुप्रति दया देखाए ।

    प्रधानमन्त्री ओली देशको सर्वशक्तिमान कार्यकारी अधिकारप्राप्त छन् । पछिल्लो कालखण्डमा यति शक्तिशाली प्रधानमन्त्री देशले पाएको थिएन ।

    उनको शक्ति विकास–निर्माणमा केन्द्रित हुनुपर्छ, सञ्चारमाध्यम र बुद्धिजीवीहरुविरुद्ध आक्रोश पोखेर समय खेर फाल्नुको अर्थ देखिँदैन ।

    लोकतान्त्रिक समाजमा स्वच्छ आलोचना स्वीकार गरिएन भने शासन व्यवस्था गलत दिशामा जानसक्नेतर्फ सबै पक्ष सचेत हुनु पर्दछ ।इमेजखबर.कमबाट

    Leave a Reply